पर्वतमा जिप दुर्घटना, एकजनाको मृत्यु एक घाइते
पर्वत,२८ चैत्र । पर्वतको महाशिला गाउँपालिकामा गए राति जिप दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ भने एकजना घाइते भएका छन् ।
सदरमुकाम कुश्माबजारबाट महाशिलातर्फ जाँदै गरेको ग२च ६९० नंको जिप महाशिला–५ काहुलेमा दुर्घटना भएको हो ।
दुर्घटनामा चालक महाशिला–४ धनुवासका ३७ वर्षीय ख्यामबहादुर विकको मृत्यु भएकाे हो । दुर्घटनामा गम्भीर घाइते भएका विकको उपचारका लागि गण्डकी अस्पताल पोखरा लैजाने क्रममा बाटोमै मृत्यु भएको प्रहरी निरीक्षक प्रकाश राउतले जानकारी दिनुभयो ।
दुर्घटनामा घाइतेको लुङ्खुदेउराली प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको छ । उनको नाम ठेगाना खुल्न नसकेको प्रहरीले जनाएको छ । दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ ।