३ दिनभित्र फोहोर उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी

काठमाडौं, ८ वैशाख । सिंहदरबार र शीतल निवासको फोहोर ३ दिनभित्र उठाई बिसर्जन गर्न काठमाडौं महानगरपालिकाको नाममा आदेश जारी भएको छ । सर्वोच्च अदालतले यस्तो आदेश जारी गरेको हो ।

न्यायाधीश प्रकाशमान सिंह राउतको एकल इजलासले शुक्रबार उक्त आदेश जारी गरेको हो । अधिवक्ता पदमबहादुर श्रेष्ठले दायर गरेको रिट निवेदनमाथि सुनुवाई गर्दै सर्वोच्च अदालतले आदेश प्राप्त भएको मितिले ३ दिनभित्र फोहोर उठाइसक्न महानगरपालिकाका नाममा आदेश जारी गरेपछि अब महानगरपालिकालाई फोहोर उठाउने बाध्यता भएको छ ।

‘रिट निवेदकले उल्लेख गरेको स्थानको फोहोरहरु आदेश प्राप्त भएको मितिले ३ दिनभित्र संकलन गरी उठाई विसर्जनसमेत अविलम्ब गर्नू, गराउनू भनी काठमाडौं महानगरपालिकाको नाउँमा अन्तरिम आदेश जारी गरिदिएको छ,’ सर्वोच्च अदालतका न्यायाधीश राउतको एकल इजलासले गरेको आदेशमा भनिएको छ ।

काठमाडौं महानगरपालिकाका मेयर बालेन साहले करीब दुई हप्तादेखि सिंहदरबार र शीलत निवासको फोहोर व्यवस्थापनमा अवरोध गरेपछि ती स्थानको फोहोर व्यवस्थापनमा समस्या भैरहेको थियो । मेयर साहले विभिन्न खाले अत्तो थाप्दै र केन्द्र सरकारलाई दोष देखाएर फोहोर व्यवस्थापनमा अवरोध गरिरहेकै बेला नुवाकोटको ककनी गाउँपालिका र धादिङको धुनिवेशी नगरपालिकाले काठमाडौं महानगरपालिकालाई अर्को चेतावनी दिएको थियो ।

यी दुई पालिकाका अध्यक्ष र मेयरले संयुक्त विज्ञप्ति निकाल्दै फोहोर फाल्न नदिने चेतावनी दिएका थिए । उनीहरुले गत वर्ष बञ्चरेडाँडा र सिसडोलबासीसँग गरेको सम्झौता कार्यान्वयन नगरेको भन्दै यस्तो चेतावनी दिएका हुन् ।

अध्यक्ष र मेयरले जारी गरेको ७ बुँदे माग १५ दिन भित्रमा पुरा नभए काठमाडौं उपत्यकाबाट उठ्ने फोहोर फाल्न नदिने चेतावनी दिइएको छ । ती दुई पालिकाका प्रतिनिधिहरूले बुधबार बैठक बसेर १५ दिन भित्र माग पूरा नभए संघर्ष गर्न बाध्य हुने र सो अवस्था सिर्जना आग्रह गरेका छन् ।