संसदीय सुनुवाइ समिति गठनमा ढिलाई, भोलिसम्म नाम दिन दलहरुलाई सभामुखको आग्रह

काठमाडौं, १३ वैशाख । नेपाली कांग्रेस, एमाले र माओवादीले नै संसदीय सुनुवाइ समितिमा रहने सदस्यहरुको नाम नदिएका कारण समितिहरु गठनमा केही ढिलाई हुने भएको छ ।

संसदको आज दिउँसो ३ बजे बोलाइएको बैठकको प्रस्तावित कार्यसूचीमा संसदीय सुनुवाइ समितिका सदस्यहरु मनोनयनका लागि प्रस्ताव गर्ने छ । तर, आज बसेको कार्यव्यवस्था परामर्श समितिको बैठकमा ती दलहरुले समितिमा रहने सदस्यहरुको नाम नदिएपछि ढिलाई हुने भएको हो ।

सभामुख देवराज घिमिरेले आज दलहरुले नाम नदिएपछि भोलिसम्म नाम दिन आग्रह गर्नुभएको छ । ‘तपाईंहरुले नाम (संयुक्त, विषयगत, विशेष समितिमा प्रतिनिधित्व गर्ने सांसदहरु) दिनुभयो भने संसदलाई प्रभावकारी बनाउन सकिन्छ । भोलिसम्ममा नाम दिनुहोला,’ सभामुखले भन्नुभयो, ‘आज नाम दिनुभएको भए आजै घोषणा गर्न सकिन्थ्यो । तर, सबैको नाम प्राप्त हुन सकेन ।

संसदलाई प्रभावकारी बनाउन कमजोर उपस्थितिलाई सुधार्नैपर्छ । संसदमा उठेका कुराहरुमा मन्त्रीहरुलाई जवाफ दिन समन्वय गरिरहेका छौं । आज पनि गृहमन्त्रीले सार्वजनिक महत्वको विषयमा बोल्दै हुनुहुन्छ ।’