विमानस्थलबाट आठ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ, देशका विभिन्न स्थानबाट थप ३३ जना नियन्त्रणमा

काठमाडौँ, ७ साउन । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट अवैध रूपमा ओसारपसार गर्न लागिएको आठ किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन्। पक्राउ पर्नेहरूमा भारतको मणिपुर घर भएका २० वर्षीया मोनादेवी ह्लाजोम र २३ वर्षीया ओनियम एली रहेका छन्।

लागुऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरी टोलीले थाई एयरवेजको उडानमार्फत बैङ्ककबाट काठमाडौँ आएका उनीहरूको सुटकेस तलासी गर्दा लुकाइराखेको उक्त गाँजा फेला पारेको हो। पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

यसैबीच, मुलुकका विभिन्न स्थानबाट नियमित गस्तीमा रहेको प्रहरी टोलीले प्रतिबन्धित लागुऔषधसहित थप ३३ जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार बाँकेबाट छ, जुम्ला, मोरङ, कञ्चनपुर, चितवन र दाङबाट तीन/तीन जना पक्राउ परेका छन्। यसैगरी रुपन्देही र काठमाडौँबाट दुई/दुई जना तथा सुर्खेत, बर्दिया, कैलाली, सर्लाही, भक्तपुर, बारा, सल्यान र सुनसरीबाट एक/एक जना पक्राउ परेका हुन्।
प्रहरीले उनीहरूको साथबाट अवैध खैरो हेरोइनका साथै चिकित्सकको सिफारिसमा मात्र खरिद गर्न पाइने फर्मास्युटिकल औषधिहरू ट्रामाडोल, भोमिन र एनारगन बरामद गरेको छ। पक्राउ परेकाहरूमाथि सम्बन्धित जिल्लाका प्रहरी कार्यालयमार्फत लागुऔषध नियन्त्रण ऐनबमोजिम मुद्दा दर्ता गरी थप अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *