नेप्से परिसूचकमा १४ अङ्कको सुधार, कारोबार रकम भने साढे ४ अर्बमा खुम्चियो
काठमाडौँ, ७ साउन । अघिल्लो कारोबार दिन बुधबार सामान्य गिरावट (करेक्सन) देखिएको धितोपत्र बजारमा बिहीबार नेप्से परिसूचक पुनः सुधार भएको छ। आज नेप्से १४.१७ अङ्कले बढेर २,७२६.७२ विन्दुमा बन्द भएको छ।
इन्ट्रा–डे उतारचढावका बीच अन्तिम समयमा बजार सकारात्मक विन्दुमा बन्द भएको हो। आज सेन्सेटिभ इण्डेक्स ०.९८ अङ्क, फ्लोट इण्डेक्स ०.७३ अङ्क र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.२९ अङ्कले बढेको छ।
नेप्से परिसूचक बढे पनि आज कारोबार रकममा भने केही गिरावट आएको छ। बुधबार रु ५ अर्ब १८ करोडको सेयर कारोबार भएको बजारमा आज ३३८ कम्पनीको ५७ हजार ७८२ पटकको कारोबारमा रु ४ अर्ब ६९ करोड ३४ लाख ४९ हजार बराबरको १ करोड ७७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ।
आज एभरेष्ट कलर लिमिटेडको सेयर मूल्यमा पुनः सकारात्मक सर्किट लागेको छ। सो कम्पनीको सेयर मूल्य रु ७३.८० ले बढेर प्रतिकित्ता रु ५६६.६० मा अन्तिम कारोबार भएको छ। यस्तै, स्नो रिभर्सको सेयर मूल्य साढे १३ प्रतिशतभन्दा बढी र एपोलो हाइड्रोपावरको मूल्य ११ प्रतिशतले बढेको छ। यता, कुथेली बुखरी स्मल हाइड्रोपावरको सेयर मूल्य भने सर्वाधिक १५ प्रतिशतले घटेको छ।
कारोबार रकमका आधारमा आज रिलायन्स स्पिनिङ्ग मिल्स शीर्ष स्थानमा रहेको छ। सो कम्पनीको रु २८ करोड ३३ लाख बराबरको सेयर कारोबार भएको छ। यस्तै, आँखु खोला जलविद्युत् कम्पनीको साढे २७ करोड र रिडी पावरको करिब २५ करोड रुपैयाँको सेयर खरिदबिक्री भएको छ।
आज कारोबार भएका १३ उपसमूहमध्ये ११ उपसमूहको परिसूचक बढेको छ भने दुई उपसमूहको परिसूचक घटेको छ। व्यापार उपसमूहको परिसूचक सर्वाधिक २.५८ प्रतिशतले बढ्दा जलविद्युत् उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढीले बढेको छ।