अर्जुनधाराका १७ अव्यवस्थित बसोबासीलाई जग्गाधनी प्रमाणपुर्जा वितरण
झापा, ७ साउन । झापाको अर्जुनधारा नगरपालिका–११ लक्ष्मीधापका १७ जना अव्यवस्थित बसोबासीले बिहीबार जग्गाधनी दर्ता प्रमाणपुर्जा (लालपुर्जा) प्राप्त गरेका छन्।
जिल्ला भूमि समस्या समाधान समिति झापाले अर्जुनधारा नगरपालिकाको सभाहलमा आयोजना गरेको कार्यक्रममा झापा क्षेत्र नं २ की प्रतिनिधि सभा सदस्य इन्दिरा रानाले उनीहरूलाई लालपुर्जा वितरण गर्नुभएको हो।
पुर्जा वितरण गर्दै सांसद रानाले वर्षौंदेखि थातथलोमा बसोबास गर्दै आएका नागरिकले कानुनी रूपमा जग्गाको स्वामित्व प्राप्त गर्नु खुसीको विषय भएको बताउनुभयो। यसले नागरिकको सम्पत्तिमाथिको अधिकार सुनिश्चित हुनुका साथै उनीहरूको सामाजिक सुरक्षामा समेत टेवा पुग्ने उहाँले विश्वास व्यक्त गर्नुभयो।
जिल्ला भूमि समस्या समाधान समिति झापाका अध्यक्ष एवं प्रमुख जिल्ला अधिकारी शिवराम गेलालले सरकारले जारी गरेको निर्देशिकाअनुसार लगत सङ्कलन, पहिचान, स्थलगत अध्ययन तथा आवश्यक कानुनी प्रक्रिया पूरा गरी वास्तविक लाभग्राहीहरूलाई मात्र प्रमाणपत्र वितरण गरिएको जानकारी दिनुभयो। अर्जुनधारा नगरपालिकाका प्रमुख बलदेवसिंह गोम्देन तामाङले नगरवासीलाई जग्गाको कानुनी स्वामित्व दिलाउने अभियानलाई निरन्तरता दिइने बताउनुभयो।
नगरपालिकाका अनुसार वडा नं ११ मा यसअघि १४४ जना अव्यवस्थित बसोबासीलाई लालपुर्जा वितरण गरिसकिएको छ। नयाँ लगतअनुसार अर्जुनधाराका ११ वटै वडामा ७२९ भूमिहीन सुकुम्वासी, २१२ भूमिहीन दलित तथा ६ हजार ३५९ अव्यवस्थित बसोबासी रहेका छन्। कार्यक्रममा स्थानीय जनप्रतिनिधि, समितिका पदाधिकारी, कर्मचारी तथा स्थानीयवासीको उपस्थिति रहेको थियो।