नीति तथा कार्यक्रममा एमाले महासचिवको टिप्पणीः न नीति न कार्यक्रम
काठमाडौं, ५ जेठ । राष्ट्रपति रामचन्द्र पौडेलले आज संसदको संयुक्त बैठकमा करीब एक घण्टा ४० मिनेट जति समय लगाएर प्रस्तुत गरेको सरकारको नीति तथा कार्यक्रमलाई नेकपा (एमाले) महासचिव शंकर पोखरेलले न नीति न कार्यक्रम भनि टिप्पणी गर्नुभएको छ । उहाँले सामाजिक सञ्जालमार्फत आफ्ना धारणा सार्वजनिक गर्दै यस्तो टिप्पणी गर्नुभएको हो ।
उहाँले गरेको टिप्पणी यस्तो छः
न नीति न कार्यक्रम !
स्वास्थ उपचारपछि आराम गरिरहुन भएका सम्माननीय राष्ट्रपतिको विवसता पट्यार लाग्दो भाषणमा प्रकट भो ।
नीति कार्यक्रमको भन्दा आजको संसदमा तीन कुराको विशेष चर्चा भोः
१ राष्ट्रपतिको सवारी
२ राष्ट्रपतिको स्वास्थ
३ राष्ट्रपतिज्यूको सम्वोधनको विवषता
करिब १ घण्टा ४० मिनट लामो नीति तथा कार्यक्रमले राजनीतिक अस्थिरता र सामाजिक अराजकताले सिर्जना गरेको बहुआयामिक चुनौतीलाई सम्वोधन गर्न सकेन ।
धार्मिक अतिवाद र धर्मान्तरका कारणले नेपाली समाजमा भइरहेको साँस्कृतिक मुल्यको विघटनको असरलाई न्युनिकरणगर्ने उपाय प्रस्तुतगर्न सकेन ।
चरम आर्थिक संकट र मन्दीको अवस्थावाट मुलुकलाई वाहिर निकाल्ने ठोस उपाय प्रस्तुत गरी पीडामा रहेका नागरिकहरुलाई आस्वस्त गर्न सकेन ।
यसरी मुल समस्यावाट विमुख भएको नीति तथा कार्यक्रमलाई सत्तापक्षकै माननीय सदस्यहरुको आफ्नो आलस्यका माध्यमवाट असहमति प्रकट गरेको जस्तो देखियो ।
तर जेठ १५ मा आउने आर्थिक वर्ष २०८०–२०८१ बजेटमा चाही यस्तो नहोस् । बजेटका माध्यमवाट चुनौतीहरुलाई सम्वोधन गरियोस् । विदेश पलायन भइरहेका युवाहरुमा आशा जगाउने काम गरियोस् । बजेटको तयारीमा जुट्नु भएका माननीय अर्थ मन्त्रीज्यूलाई शुभकामना ।