आर्थिक वर्ष २०८२/८३ मा १२ लाख ९ हजारभन्दा बढी पर्यटक नेपाल भित्रिए
काठमाडौँ, १० साउन । गत आर्थिक वर्ष २०८२/८३ मा नेपालमा १२ लाख ९ हजार ३५७ जना विदेशी पर्यटक भित्रिएका छन्। नेपाल पर्यटन बोर्डका अनुसार छिमेकी मुलुक भारत नेपालको सबैभन्दा ठूलो पर्यटकीय स्रोत बजार बनेको छ, जहाँबाट कुल ३ लाख ११ हजार ५३१ जना पर्यटक नेपाल आएका छन्।
बोर्डले सार्वजनिक गरेको अन्तर्राष्ट्रिय पर्यटक आगमनको तथ्याङ्कअनुसार कुल आगमनमा भारतको हिस्सा करिब २५.७६ प्रतिशत रहेको छ। भारतपछि संयुक्त राज्य अमेरिका १ लाख ११ हजार ३२५ पर्यटकसहित दोस्रो र चीन १ लाख ९ हजार ८९२ पर्यटक आगमनसहित तेस्रो प्रमुख पर्यटकीय स्रोत बजार बनेका छन्।
यसैगरी, बङ्गलादेशबाट ५८ हजार १६३, संयुक्त अधिराज्य (बेलायत) बाट ५६ हजार ६४९, अस्ट्रेलियाबाट ५३ हजार १९५, श्रीलङ्काबाट ४३ हजार २११, भुटानबाट ३६ हजार २८९, म्यान्मारबाट ३० हजार ७३७, जर्मनीबाट २९ हजार २९६, थाइल्यान्डबाट २७ हजार २०१, जापानबाट २५ हजार ७६२ तथा मलेसियाबाट २५ हजार ६४० जना पर्यटक नेपाल भित्रिएका छन्।
तथ्याङ्कअनुसार गत आर्थिक वर्षमा सबैभन्दा बढी कात्तिक महिनामा १ लाख २४ हजार ८२९ जना पर्यटक नेपाल आएका थिए। यसैगरी चैतमा १ लाख १९ हजार ३९०, फागुनमा १ लाख १४ हजार १५२ र असोजमा १ लाख ११ हजार ७८० पर्यटकको आगमन भएको छ।
नेपाल पर्यटन बोर्डले छिमेकी बजार भारत र चीनमा प्रवर्द्धनात्मक कार्यक्रमलाई तीव्रता दिएको जनाएको छ। गत आवमा भारतका पुणे, हैदरावाद, चेन्नई, मुम्बई र नयाँ दिल्लीलगायतका सहरहरूमा १२ भन्दा बढी र समग्र अन्तर्राष्ट्रिय बजारमा ४० भन्दा बढी पर्यटन प्रवर्द्धनका कार्यक्रम सञ्चालन गरिएको थियो।
यसैगरी, भारतसँग सीमा जोडिएका तराई क्षेत्रमा पर्यटकीय गतिविधि विस्तार गर्न पूर्वको झापादेखि पश्चिम कञ्चनपुरसम्म विभिन्न क्रस–बोर्डर पर्यटन मार्ट तथा मेला आयोजना गरिएको थियो, जसका कारण स्थलमार्ग हुँदै भित्रिने पर्यटकको सङ्ख्यामा सुधार आएको बोर्डको विश्लेषण छ।
नेपाल पर्यटन बोर्डका निमित्त कार्यकारी प्रमुख हिक्मत सिंह ऐरले अन्तर्राष्ट्रिय बजारमा गरिएको प्रवर्द्धन, हवाई पहुँचको विस्तार र निजी क्षेत्रसँगको सहकार्यका कारण पर्यटन क्षेत्र पुनरुत्थानबाट दिगो वृद्धितर्फ अघि बढिरहेको सङ्केत मिलेको बताउनुभयो।
ऐरले चीन, अमेरिका, अस्ट्रेलिया र बङ्गलादेश जस्ता उच्च सम्भावना भएका स्रोत बजारहरूमा नियमित ‘सेल्स मिसन’ र व्यवसाय–व्यवसाय (बीटुबी) सम्पर्क विस्तार गर्न आवश्यक रहेको औँल्याउनुभयो। सरकारले सन् २०२७ लाई ‘आरोग्य पर्यटन वर्ष २०२७’ घोषणा गरेको सन्दर्भमा चालु आर्थिक वर्ष २०८३/८४ मा पर्यटकको आगमन थप बढ्ने अपेक्षा गरिएको छ। आगामी दिनमा बढी खर्च गर्ने पर्यटक आकर्षित गर्ने र उनीहरूको बसाइ अवधि लम्ब्याउने नीतिलाई प्राथमिकता दिइने बोर्डले जनाएको छ।