प्रतिनिधिसभा बैठक : बजेटमाथि उठेका प्रश्नको जवाफ अर्थमन्त्रीले दिने
काठमाडौं, २८ जेठ । प्रतिनिधिसभाको बैठक आइतबार बस्दैछ । बैठक संघीय संसद भवन नयाँ बानेश्वरमा आइतबार बिहान ११ बजेबाट सुरु हुनेछ।
बैठकमा सरकारले जेठ १५ गते प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०/०८१ को बजेटबारे सांसदहरूले उठाएका प्रश्नको अर्थमन्त्री डा. प्रकाशशरण महतले जवाफ दिनुहुनेछ ।
प्रतिनिधिसभा बैठकमा अघिल्लो सोमबारदेखि बजेटमाथि छलफल चलिरहेको छ। बजेटमा प्रतिपक्ष दल नेकपा एमालेले बजेट सच्याएर प्रस्तुत गर्न आग्रह गरेकाे छ ।
त्यस्तै आजकाे सम्भावित कार्यसूचीमा विनियोजन विधेयक, २०८० लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले राखेको विरोधको सूचनालाई निर्णयार्थ प्रस्तुत गरिने पनि कार्यसूची छ।
आजै अर्थमन्त्री डा. महतले विनियोजन विधेयक, २०८० प्रस्तुत गर्नुहुनेछ ।