स्वास्थ्य भवनको उद्घाटन

काठमाडौँ, २८ साउन । जापान सरकारको सहयोगमा बनेको सामुदायिक स्वास्थ्य सेवा परिषद् डल्लु आवासको परिसरमा बनेकोे भवनको उद्घाटन गरिएको छ ।
नेपाली काँग्रेसका सांसद नवीन्द्रराज जोशी र नेपालका लागि जापानका राजदूत मासासी ओगावाले संयुक्त रुपमा आज भवनको उद्घाटन गर्नुभएको हो ।
सांसद जोशीले विकासको सबै काम समुदायमा आधारित हुनुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “विकासको जिम्मा समुदायले लिने हो भने त्यो विकास दीर्घकालीन हुनुका साथै प्रतिफल सकारात्मक हुन्छ ।”
राजदूत ओगावाले जापान सरकार नेपालको विकासमा सधँै सहयोग गर्न तयार भएको बताउनुभयो । उहाँले जापानको सहयोगमा बनेको स्वास्थ्य भवनको उपयोगले जनतालाई उत्कृष्ट सेवा दिने विश्वास व्यक्त गर्नुभयो ।
स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा किरण रेग्मीले सरकारले स्वास्थ्य संस्थामा ज्यादै कम बजेट छुट्याएका कारण सबै नागरिकलाई सेवा पु¥याउन नसकिएको उल्लेख गर्नुभयो ।
उक्त दुई कोठे भवन जापान सरकारको रु ९६ लाख ९० हजार ८९९ को सहयोगमा बनेको हो । भवनका साथै सो रकममा परिषद्ले डिजिटल एक्स–रे र अल्ट्रासाउन्ड, नाक, कान र घाँटीको उपचारमा प्रयोग हुने उपकरण पनि खरिद गरेको परिषद्का महासचिव मुकुन्दप्रसाद पाण्डेले जानकारी दिनुभयो । छत्तीस वर्ष पुरानो उक्त परिषद्बाट विभिन्न रोगका १८ जना विशेषज्ञबाट २० वटा रोगको परीक्षण हुने गरेको परिषद्का अध्यक्ष हरिगोपाल श्रेष्ठले बताउनुभयो ।