‘अनुभव र अनुभूति’ लोकार्पण

maitrinews

काठमाडौँ । समाजसेवी एवम् राजनीतिज्ञ दयारामभक्त माथेमाको जीवनीमा आधारित पुस्तक ‘अनुभव र अनुभूति’को लोकार्पण गरिएको छ ।

दया फाउन्डेसनले प्रकाशन गरेको उक्त पुस्तकको यहाँ आज लोकापर्ण गर्दै नेपाल राष्ट्र बैंकका प्रथम गभर्नर हिमालय शम्शेर जबराले नेपालको प्रजातन्त्र स्थापनामा स्वर्गीय माथेमाको ठूलो भूमिका रहेको चर्चा गर्नु भयो ।

उहाँले भन्नुभयो, “स्वर्गीय माथेमा दुःखमा अडिग धैर्यवान्, ठूलासाना सबैलाई आदरपूर्ण व्यवहार गर्ने, मिलनसार र शिष्ट हुनुहुन्थ्यो ।” शताब्दी पुरुष सत्यमोहन जोशीले ‘अनुभव र अनुभूति’ले नेपाली साहित्यमा थप आयाम थपेको धारणा राख्नु भयो ।

उहाँले नेवारी भाषा, साहित्यको विकासमा माथेमाको ठूलो योगदान रहेको चर्चा गर्दै फाउन्डेसनले स्वर्गीय माथेमाको पुस्तक जनतामाझ ल्याएर राष्ट्रलाई ठूलो गुन लगाएको छ भन्नु भयो ।

त्रिभुवन विश्वविद्यालयका पूर्वउपकुलपति केदारभक्त माथेमाले तत्कालीन समयमा मुलुकमा भएका विभिन्न घटना परिघटनालाई पुस्तकमा समेटेर दया फाउन्डेसनले सराहनीय कार्य गरेको बताउनुभयो ।

तत्कालीन राजा त्रिभुवनको प्रमुख सहयोगी तथा सल्लाहकारका रुपमा काम गर्नुभएका माथेमाले मुलुकमा प्रजातन्त्र स्थापनामा खेलेको भूमिकाका साथै राजा र जनताको सम्बन्धलाई पुस्तकमा उल्लेख गरिएको छ । पुस्तक ४०७ पृष्ठको छ ।

विसं २०६५ मा स्थापना भएको फाउन्डेसनले शिक्षामा सुधार, स्वास्थ्य सेवाको विकास र संस्कृतिको संरक्षणमा महत्वपूर्ण भूमिका खेल्दै आइरहेको छ