नेपालगञ्ज उपमहानगरपालिकाद्वारा १ अर्ब ७६ करोडको बजेट पारित
नेपालगञ्ज, २८ असार । नेपालगञ्ज उपमहानगरपालिकाको नगरसभाले आगामी आर्थिक वर्षका लागि प्रस्तुत १ अर्ब ७६ करोड रुपैयाँ बराबरको बजेट पारित गरेको छ। नगरप्रमुख प्रशान्त विष्टको अध्यक्षतामा सम्पन्न १९औँ नगरसभाले आगामी वर्षका नीति, कार्यक्रम तथा बजेटलाई अनुमोदन गरेको हो।
पारित बजेट अनुसार नगरको धार्मिक पर्यटन विकासका लागि ऐतिहासिक वागीश्वरी मन्दिर क्षेत्रको सौन्दर्यीकरण, खडेश्वर जुँगे महादेव मन्दिर निर्माण, १०८ फिट अग्लो हनुमानको मूर्ति स्थापना, नयाँ व्यापारिक भवन निर्माण, जमुनाहा नाकामा स्वागत प्रवेशद्वार तथा नगर बसपार्क निर्माणसम्बन्धी महत्त्वपूर्ण प्रस्तावहरू स्वीकृत भएका छन्।
यसैगरी, बहुप्रतीक्षित नेपालगञ्ज चक्रपथको विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) शीघ्र सम्पन्न गरी कार्यान्वयनको प्रक्रिया अघि बढाउने निर्णय भएको छ। बजेटले नगरको दिगो विकास, आन्तरिक राजस्वको दायरा एवं आय वृद्धि, सार्वजनिक सेवा प्रवाहमा सुधार र पर्यटकीय ताल एवं उद्यानहरूको संरक्षणलाई विशेष प्राथमिकतामा राखेको छ।
वातावरणमैत्री सहरी पूर्वाधारका लागि नगरमा हरियाली प्रवर्द्धन गर्ने कार्यक्रमहरू सञ्चालन गरिनेछ। उपमहानगरपालिकाले सञ्चालन गर्ने विभिन्न विकास परियोजनाहरूको प्रभावकारी एवं गुणस्तरीय अनुगमन प्रणालीलाई चुस्त बनाउन आवश्यक बजेटको व्यवस्था मिलाइएको जनाएको छ।