अनुमति बिना भारतीय विमानस्थल प्रयोग गर्ने १५९ म्यानपावर कम्पनीलाई वैदेशिक रोजगार विभागको कारबाही
काठमाडौँ, २८ असार । वैदेशिक रोजगार विभागले विभागको पूर्वअनुमति बिना भारतीय विमानस्थल प्रयोग गरी नेपाली श्रमिकहरूलाई वैदेशिक रोजगारीमा पठाउने १५९ वटा म्यानपावर कम्पनीहरूलाई कारबाही गरेको छ। विभागले ती कम्पनीहरूलाई वैदेशिक रोजगार ऐन, २०६४ को दफा २२ विपरीत कार्य गरेको ठहर गर्दै पहिलो पटक सचेत गराएको हो।
विभागले वैदेशिक रोजगार सम्बन्धी कानुनी प्रावधानहरूको पालना भए–नभएको जाँच गर्न २०८२ चैत १ गतेदेखि २०८३ जेठ मसान्तसम्म श्रम स्वीकृति लिई विदेश गएका श्रमिकहरूको उडान विवरण माग गरेको थियो। सञ्चालनमा रहेका कुल १ हजार ११७ इजाजतप्राप्त संस्थाहरूमध्ये ६७८ संस्थाले मात्रै विवरण बुझाएका थिए। प्राप्त विवरण अध्ययन गर्दा १५९ वटा म्यानपावर कम्पनीहरूले विभागको पूर्वस्वीकृति बिना भारतीय विमानस्थल प्रयोग गरी श्रमिक पठाएको पाइएको हो।
यसैगरी, विभागले माग गरेको विवरण उपलब्ध नगराउने ४३९ वटा म्यानपावर कम्पनीलाई ऐनको दफा ३७ उल्लङ्घन गरेको ठहर गर्दै पहिलो पटक सचेत गराएर पुनः विवरण बुझाउन निर्देशन दिएको छ। पटक–पटक कानुन तथा निर्देशन उल्लङ्घन गर्ने अन्य ८ वटा म्यानपावर कम्पनीलाई भने जनही ५० हजार रुपैयाँका दरले जरिवाना गरिएको विभागले जनाएको छ। जरिवाना गरिएकामध्ये ३ वटा कम्पनीलाई पुनः भारत हुँदै श्रमिक उडाएको र ५ वटा कम्पनीलाई माग गरिएको विवरण नबुझाएको कसुरमा कारबाही गरिएको हो।
वैदेशिक रोजगार ऐन अनुसार वैदेशिक रोजगारीमा जाने श्रमिकलाई अनिवार्य रूपमा स्वदेशी विमानस्थल प्रयोग गरी पठाउनुपर्ने कानुनी व्यवस्था छ। कुनै विशेष कारणले विदेशी विमानस्थल प्रयोग गर्नुपर्ने भएमा विभागको पूर्वस्वीकृति लिनुपर्दछ। भारतीय विमानस्थल हुँदै लुकिछिपी श्रमिकहरू पठाउने गरिएको गुनासो बढेपछि विभागले गत असार २६ गते एक सूचना जारी गर्दै उडान विवरण माग गरेको थियो। विभागले व्यवसायीहरूलाई कानुनी निर्देशनको पूर्ण पालना गर्न सचेत गराउँदै भविष्यमा यस्ता गतिविधि दोहोरिए थप कडा कारबाही गरिने चेतावनी दिएको छ।