उचित व्यवस्थापन बिना उठीबास लगाएको भन्दै माइतीघरमा सुकुम्वासी मोर्चाको प्रदर्शन

काठमाडौँ, २८ असार । वैकल्पिक एवं उचित व्यवस्थापन बिना नै बलपूर्वक उठीबास लगाएको भन्दै संयुक्त राष्ट्रिय सुकुम्वासी मोर्चाले काठमाडौँको माइतीघरमा विरोध प्रदर्शन गरेको छ। सुकुम्वासी तथा अव्यवस्थित बसोवासीहरूको स्थायी बसोबासको माग राख्दै मोर्चा आन्दोलित बनेको हो।

शनिबार बिहान कीर्तिपुरस्थित होल्डिङ सेन्टरमा बाढी पसेर त्यहाँ आश्रय लिइरहेका सुकुम्वासी परिवारहरू विस्थापित हुनुपरेको र शनिबार साँझ प्रहरीले ‘जेन–जी’ समूहका अभियन्ताहरूलाई गिरफ्तार गरेपछि सुकुम्वासीहरू थप आक्रोशित बन्दै सडक प्रदर्शनमा उत्रिएका हुन्।

प्रदर्शनमा उत्रिएका आन्दोलनकारीहरूले वैकल्पिक आवासको ग्यारेन्टी नगरी सुकुम्वासी बस्ती भत्काउने र सुरक्षित स्थान भनिएको होल्डिङ सेन्टरमा राखिएकाहरूलाई समेत वर्षा र बाढीको चपेटामा पार्ने सरकारी संवेदनहीनताको आलोचना गरे। उनीहरूले पक्राउ परेका अभियन्ताहरूको तत्काल रिहाइको माग गर्दै नागरिकको सुरक्षित बसोबासको संवैधानिक हक सुनिश्चित गर्न माग गरेका छन्।

Leave a Reply

Your email address will not be published. Required fields are marked *