पौडीबाज गौरिकालाई रु. ९ लाख ५० हजार पुरस्कार

gaurica

काठमाडौँ । १२ औं दक्षिण एसियाली खेलकुदमा एक रजतसहित चार पदक जितेकी स्वीमर गौरिका सिंहले पुरस्कारस्वरूप ९ लाख ५० हजार रुपैयाँ प्राप्त गरेकी छन् ।
उनी दक्षिण एसियाली खेलकुदमा पौडीको व्यक्तिगत स्पर्धामा पदक जित्ने पहिलो नेपाली हुन् । उक्त पदक जितेबापत सरकारद्वारा घोषित ९ लाख र पौडी संघबाट ५० हजार रुपैयाँ पाएकी हुन् ।
यसैबीच,राष्ट्रपति विद्यादेवी भण्डारीले ब्राजिलमा भएको रियो ओलम्पिकमा सहभागी पौडी खेलाडी गौरिका सिंहलाई सम्मान गर्नुभएको छ ।
राष्ट्रपति कार्यालय शीतल निवासमा आयोजित कार्यक्रममा राष्ट्रपति भण्डारीले ओेलम्पिकमा सहभागी खेलाडीमध्ये सबैभन्दा कम १३ वर्ष उमेरकी पौडीबाज खेलाडीका रुपमा नयाँ कीर्तिमान कायम गरेकी सिंहलाई सम्मान गर्न पाउँदा आफूलाई खुसी लागेको बताउनुभयो ।
कार्यक्रममा नेपाल ओलम्पिक कमिटीका अध्यक्ष जीवनराम श्रेष्ठसहित सदस्य तथा नेपाल पौडी सङ्घका अध्यक्ष अशोकरत्न बज्राचार्य लगायतको सहभागिता थियो ।