नेपालमै नजन्मिएका र बाउबाजेको ठेगान नभएकाले मधेसको कुरा गर्न मिल्दैन : नेपाल

काठमाडौँ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले सर्वोच्चले देशलाई ठूलो दुर्घटनाबाट बचाएको बताउनु भएको छ । प्रेस चौतारी नेपालले पुस २२ को जनप्रदर्शनको सन्दर्भमा राजधानीमा बुधबार आयोजना गरेको अन्तरक्रियामा उहाँले यस्तो बताउनु भएको हो । ‘सर्वोच्चले देशलाई ठूलो दुर्घटनाबाट बचाएको छ । हामी सर्वोच्चको निर्णको स्वागत गर्छौ,’ उहाँले भन्नुभयो, ‘संविधान संशोधन प्रस्तावमा प्रदेश नम्बर पाँचलाई टुक्र्याउने र देशलाई द्वन्द्वको चक्रब्युहमा फसाउँने षडयन्त्र भएको थियो । त्यसलाई सर्वोच्चको निर्णयले रोकेको छ ।’
उहाँले सर्वोच्चको फैसला एमालेको पक्षमा भएको पनि दाबी गर्नुभयो । उहाँले एमालेले उठाएका एजेण्डा ठीक भएको प्रमाणित सर्वोच्चले गरेको पनि दाबी गर्नुभयो ।
त्यसैगरी उहाँले देश विखण्डन गर्ने र देश टुक्र्याउने धम्की दिनेहरुलाई निगरानी गर्नुपर्ने पनि बताउनुभयो । ‘देश विखण्डन गर्ने र देशलाई टुक्र्याउने धम्की दिदाँ पनि हाम्रो देशमा नियन्त्रण गर्ने प्रयास हुँदैन,’ उहाँले भन्नुभयो, ‘हामी यस्तो विडम्बना भोग्न बाध्य छौँ ।’
नेपालले देश टुक्र्याउने र विखण्डन गर्ने धम्की दिनेहरुलाई कांग्रेस र माओवादीले संरक्षण दिएको समेत आरोप उहाँले लगाउनुभयो ।
उहाँले अहिले संविधान संशोधन गर्ने बेला नभएको भन्दै कार्यान्वयनतिर जानु पर्नेमा जोड दिनुभयो । ‘यो समय संविधान संशोधनको होइन, कार्यान्वयनको हो,’ नेपालले भन्नुभयो, ‘तर प्रचण्डजीहरु कित त्यतारित लाग्नु भएको छ मैले बुझेको छैन ।’
उहाँले आफू नेपालले आफू रौतहत क्षेत्र नम्बर–१ बाट संविधान सभाको दोस्रो निर्वाचनमा विजयी भएको भएको स्मरण गर्दै भन्नुभयो–‘म मधेसको धर्तीपूत्र हुँ । मैले बोलेको मधेसको मुद्दा हुन्छ । मेरो पुस्ताहरु मधेसमै जम्मे, मधेसमै हुर्के । बाउबाजेकै ठेगान नभएकाले मधेसको मुद्दा यो हो भन्न मिल्दैन ।’ नेपालमै नजन्मिएका र बाउबाजेको ठेगान नभएकाले मधेसको कुरा गर्न नमिल्ने उहाँको भनाइ थियो ।