एमालेलगायत नौ दलको नाराबाजीकाबीच संविधान संशोधन विधेयक संसदमा पेस

काठमाडौं । प्रमुख प्रतिपक्षी नेकपा एमालेसहित नौ दलको अवरोधकाबीच सरकारले संसदमा दर्ता गराएको संविधान संशोधन विधेयक संसदमा टेबल गरेको छ। कानुन मन्त्री अजय शंकरले नायकले विपक्षीको विरोधकाबीच संशोधन प्रस्ताव टेबल गर्नुभएको हो । मन्त्री नायकले संशोधन प्रस्ताव टेबल गर्दा विपक्षी दलले आफ्नो सिटबाट उठेर नाराबाजी गरेका थिए।
गृहमन्त्री बिमलेन्द्र निधिकातर्फबाट कानुनमन्त्री अजयशंकर नायकले स्थानीय तह निर्वाचन विधेयक संसदमा पेश गर्नुभयो । यसैगरी संसद बैठकले अख्तियारका निलम्बित प्रमुख लोकमानसिंह कार्की विरुद्ध छलफलका क्रममा रहेको महाअभियोग प्रस्ताव समितिमा पठाउने निर्णय गरेको छ।
यसअघि प्रमुख प्रतिपक्षसहितका विपक्षी गठबन्धनले लगातार संसद बैठक अबरोध गरेपछि सभामुखको पहलमा शीर्ष नेताको बैठक बसेको थियो।बैठकमा प्रधानमन्त्री पुष्पकमल दाहालले संशोधन प्रस्ताव अगाडि बढाउन सहयोग गर्न एमाले अध्यक्ष केपी ओलीलाई आग्रह गर्नुभएको थियो। जवाफमा ओलीले निर्वाचन समबन्धी कानुन र अख्तियार निलम्बित प्रमुख आयुक्त लोकमानसिंह कार्की विरुद्धको महाभियोग प्रस्ताव अगाडि बढाउन आग्रह गर्नुभएको थियो।