४३ वर्षदेखि खराउ लगाएर ठमठम हिँड्दै चौधरी

maitrinews

मोरङ । न उहाँ साधु न त कमजोर आर्थिक अवस्थाको व्यक्ति तर पनि मोरङको बेलबारी–११ का लीलाप्रसाद चौधरी त्रेता युगमा जस्तै खराउ लगाएर ठमठम हिँड्नुहुन्छ ।
बाहुनीको जनता उच्च माविमा ३२ वर्ष लेखापालको जागिर गरेर सेवा निवृत्त हुनुभएका चौधरीलाई पैसाको अभाव हुने कुरै भएन, तर पनि ६६ वर्षीय चौधरीका खुट्टामा खराउ देख्दा जो कोही एक छिन टक्क उभिएर हेर्ने गर्छन् ।

लीला सरको खुट्टामा खराउ परेको ४३ वर्ष भयो । किन खराउ लगाउनुभयो रु भन्ने जिज्ञासामा उहाँले भन्नुभयो – “२२ वर्षको उमेरमा दाहिनेपट्टि हर्निया निस्कियो । २०३० सालमा नेपालमा उपचार गर्न सम्भव नै थिएन । भारतसम्म पुग्ने आर्थिक हैषियत भएन । त्यसैबेला एकजना साधुले उहाँलाई खराउ लगाउन सुझाव दिनुभयो । उति बेला खाली खुट्टा नै हिँड्ने समय थियो । गाउँमा इने गिनेले मात्र खुट्टामा जुत्ता चप्पल लगाउँथे ।”

साधुले भनेअनुसार लीलाले गाउँको सिकर्मीलाई खराउ बनाउन लगाउनुभयो । सिमलको रुखको काठ खोपेर खुट्टाको बूढी र माइली औँलाले च्याप्ने गरी टुसो निकालेर खराउ बनाउन लगाउनुभयो । सुरुमा अप्ठ्यारो भयो । तर, हर्नियाका बिरामी लीलालाई हर्नियाबाट मुक्त हुनु थियो । त्यसैले उहाँले दैनिक औँलाको बीचबाट रगत चुहाउँदै पनि १९ महिना खराउ लगाउनुभयो । १९ महिनामा हर्निया आफैँ हरायो । त्यसयता लीलालाई हर्नियाले दुःख दिएको छैन । उहाँ भन्नुहुन्छ – “मलाई खराउ सञ्जीवनी बुटी जस्तै भयो ।” उहाँले खराउ लगाउन छोड्नुभएको छैन । अचेल धेरैले उहाँलाई अब त के खराउ लगाउँछौँ भनेर नलगाउन सुझाव दिन्छन् । तर लीला नातागोता र इष्टमित्रका कुरामा लाग्नु भएको छैन ।

युग जतिसुकै आधुनिक भए पनि पूर्वीय शास्त्रमा सबै रोगको उपचार गर्ने पद्दति भएको उहाँको भनाइ छ । उहाँ भन्नुहुन्छ – “अहिले खराउ बनाइदिने सिकर्मी पाइँदैनन्, त्यसैले आफँै बनाएर लगाउँछु । अब त उहाँको नाम नै खराउ सर भइसकेको छ । सबैले लीलाभन्दा पनि खराउ सर भनेर चिन्छन् ।” उहाँले थप्नुभयो – “जे भने पनि म सन्तुष्ट छु, त्रेता युगको चप्पल अझै जोगाएको छु । मेरो फाइदाका लागि हो ।”