युवा संघमा फेरि विवाद, छुट्टा–छुट्टै महाधिवेशन घोषणा

काठमाडौँ । केही साम्य बनेको युवा संघ नेपाल भित्रको विवाद फेरि चुलिएको छ । निकै लामो समयको विवादपछि केही साम्य बनेको युवा संघ भित्रको विवाद अन्तर जिल्ला कमिटी खारेजीको विषयलाई लिएर विवादमा तानिएको हो । एमाले अध्यक्ष केपी शर्मा ओली समूहले अन्तर जिल्लालाई कायमै राख्नु पर्ने माग गर्दै आएको थियो भने माधव नेपाल निकट मानिने समूहले त्यसको विरोध गर्दै आएको थियो । विवादकै बीच युवा संघ नेपालको केही दिन अघि राजधानीमा सम्पन्न बैठकले वैशाख ९ देखि १२ सम्म मकवानपुरमा नवौँ महाधिवेशनको घोषणा गरेको थियो । तर, नेपाल निकट समूहले भने आज छुट्टै पत्रकार सम्मेलनको आयोजना गरी महाधिवेशनका लागि नयाँ मिति र स्थान घोषणा गरेको छ । नयाँ मिति घोषणासँगै विवाद चुलिएको हो । सो समूहले त्यहि मितिमा चितवनको भरतपुरमा महाधिवेशन गर्ने घोषणा गरेको छ ।
‘हामीले एकताको महाधिवेशन गर्न खोजेका हौँ,’ उपाध्यक्ष दिलु पन्तले भन्नुभयो्,‘तर, युवा संघ नै बलबाहुका भरमा कब्जा गर्न खोजेपछि हामीले युवा संघको नीति, विधान र विचारमा अडिक रहेर महाधिवेशनको घोषणा गरेका छौँ ।’
उहाँले एक हप्ताभित्र निर्णय नसच्याए आफूहरु महाधिवेशनको पूर्ण तयारीमा जुट्ने चेतावनी पनि दिनुभयो । उहाँले युवा संघ कब्जा गर्न खोजेपछि आफूहरु विधान अनुसार चल्न खोजेको बताउनुभयो ।
यता अध्यक्ष राजीव पहारी समूहले विधि–विधान बाहिर गएर कसैले केही गर्छ भने त्यो युवा संघ नहुने बताएको छ । सो समूहले तोकेकै मिति र स्थानमा महाधिवेशन हुने भन्दै कसले कहाँ पत्रकार सम्मेलन गर्यो भन्ने जानकारी आफूहरुलाई नभएको बताएको छ ।