मलेसियामा नेपालीलाई नै लुट्ने ११ नेपाली पक्राउ, नौ जनाको खोजी जारी

मलेसिया । मलेसियामा नेपालीकै लुटपाट गर्ने ११ जना नेपाली पक्राउ परेका छन् ।
उनीहरुले ‘पेनाङ योङ स्टार ग्रुप’ सञ्चालन गरि मलेसियामा नेपालीहरुसाग चन्दा असुली गर्ने, लुटपाट गर्ने लगायतका गतिविधि गर्दै आएको त्यहाँको प्रहरीले जनाएको छ ।
प्रहरीले मध्यरातमा पेनाङको जुरुबाट ६ जना र तामन परविरा क्षेत्रबाट ५ जनालाई पक्राउ गरिएको जनाएको छ । पेनाङ प्रहरीले गत आइतबार त्यहाँको बुकित मातार्जामबाट उक्त समूहमै आबद्ध भनिएका ३ जनालाई पनि पक्राउ गरेको थियो । प्रहरीले यसबारे एक पत्राकार सम्मेलन गर्दै सार्वज्निक गरेको हो ।
पक्राउ पर्नेमा २२ देखि ३६ बर्ष उमेर समूहका रहेका छन् भने तीमध्येका नाईके ३६ बर्षिय नेपाली रहेको मलेसियाली समाचारसंस्था बर्नामा ले उल्लेख गरेको छ ।
पक्राउ पर्नेहरुमध्ये कतिपय गैरकानुनी हैसियतका छन् । उक्त समूहमा २० जना नेपालीहरु आबद्ध रहेको प्रहरीको प्रारम्भिक अनसुन्धानले देखाएको छ । प्रहरीले समूहमा आबद्ध अन्य नौजनाको खोजी गरिरहेको जनाइएको छ ।
नाईके ती व्यक्ति क्वालालम्पुरबाट केही समयअघि मात्र पेनाङ पुगेको समाचारहरुमा उल्लेख गरिएको छ र उनको तस्विर पनि सार्वजनिक गरिएको छ ।
छापा मार्ने क्रममा केही नेपालको झण्डाहरु, धार्मिक सरसामानहरु र धारिला हतियारसमेत बरामद भएको बताइएको छ । उनीहरुको कुनै पनि जागिर नभएको र आफ्नै मुलुकका नागरिकहरुसँग चन्दा असुली एवं लुटपाट गर्ने गरेको प्रहरीलाई उल्लेख गर्दै संचारमाध्यमले खबर छापेका छन् ।
मलेसियाली अंग्रेजी दैनिक द स्टार का अनुसार उक्त समूहले विगतबर्षदेखि प्रतिव्यक्ति मासिक २५ रिंगिटका दरले चन्दा असुली गर्दै आएको थियो ।