डडेल्धुरामा खुकुरी प्रहार गरी शेरबहादुरको हत्या

डडेल्धुरा । डडेल्धुराको कोटेली–१ न्वाघरका ३७ वर्षीय शेरबहादुर साउदको आज बिहान खुकुरी प्रहार गरी हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार स्थानीय भीमबहादुर भूलले साउदलाई खुकुरी प्रहार गरी हत्या गरेको प्रहरीले जनाएको छ । खानेपानीको विषयमा भएको सामान्य विवादमा भूलले साउदमाथि खुकुरी प्रहार गरेका थिए । खुकुरी प्रहारबाट गम्भीर घाइते शेरबहादुरको उपचारका लागि उपक्षेत्रीय अस्पताल डडेल्धुरामा ल्याउने क्रममा बाटोमै ज्यान गएको हो ।
खुकुरी प्रहार गर्ने भूललाई प्रहरीले पक्राउ गरेको छ । एउटै स्थानमा तल र माथि घर भएका दुई परिवारको खानेपानी प्रयोग गर्ने धारा एउटै रहेको र तलको धारा बन्द भएपछि मात्रै माथिल्लो धारामा पानी जाने भएकाले तलको धारा बन्द नगरेपछि विवाद भएको जनाइएको छ । मृतक साउदको घर माथि र भूलको घर तल रहेको छ ।