पोलियो थोपा खुवाउने कार्यक्रममा अवरोध गर्ने १८ जना स्वास्थ्यकर्मी निलम्बित

काठमाडौँ । हडतालमा रहेका स्वास्थ्यकर्मीहरु अभियानमा सहभागी नभएपछि खासगरि सिराहा र सप्तरी जिल्लामा हजारौं बालबालिका पोलियो थोपा खानबाट बञ्चित भएको अधिकारीहरुले बताएका छन्।
१५ जिल्लाका १६ लाख बालबालिकालाई शनिबार र आइतबार दुई दिन खोप खुवाउने कार्यक्रम रहेको थियो।
हड्तालका कारण असर परेका स्थानहरुमा निरन्तर खोप कार्यक्रम जारी राखिने स्वास्थ्य मन्त्रालयका सचिव डा सेनेन्द्रराज उप्रेतीले बताएका छन्।
धेरै ठाउँमा खोप कार्यक्रम राम्रै गरि चल्यो। तर सिराहा र सप्तरीमा असर पर्यो। जहाँ असर परेको छ त्यहाँ यो अभियान निरन्तर चलाउनेछौं,उप्रेतीले भन्नुभयो।
शनिबार र आइतबार दुवै दिन खोप केन्द्रमा पुगेर कैयौं अभिभावक निराश फर्किन वाध्य भएका थिए।
दुई बालबालिका लिएर दुई दिननै त्यसरी खोप केन्द्र धाएका हदिस खुदारले भने, अरुबेला खोप दिने ठाउँ वडा कार्यालयमा म दुवै दिन गएं। तर त्यहाँ कोही थिएन।
खोप कार्यक्रम असफल बनाएको आरोपमा सरकारले केही जिल्ला स्वास्थ्य प्रमुख सहित १८ जना कर्मचारीलाई निलम्बन गरेको छ ।
फागुन २३ गते ।