जवरजस्ती बीरगञ्ज बजार बन्द गराउने मधेसी मोर्चाका नेता र कार्यकर्तालाई व्यापारीहरुले लखेटे

maitrinews

 

पर्सा । संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाका नेता कार्यकर्ता र व्यापारीबीच आज वीरगन्जको घन्टाघर चोकमा झडप भएको छ । ब्यापारीहरु एकजुट भई प्रतिकार गरेपछि मार्चाका नेता तथा कार्यकर्ता त्यहाबाट भागेका छन् ।

मधेसी मोर्चाका नेता कार्यकर्ताले बजार बन्द गराउने क्रममा व्यापारीमाथि हातपात गरेपछि व्यापारीले प्रतिकार गरेका हुन् ।

बजार बन्द गराउने क्रममा आन्दोलनकारीले वीरगन्जको मिना बजारमा रहेका किराना पसल सञ्चालकलाई कुटपिट गरेपछि सोको विरोधमा व्यापारी एकजुट भई आन्दोलनकारीको प्रतिकार गरेका हुन् ।

व्यापारी र आन्दोलनकारीबीचको झडपका कारण वीरगन्जको घण्टाघर क्षेत्र तनाबग्रस्त बन्यो । व्यापारीले गरेको प्रतिकारमा परी राष्ट्रिय मधेस समाजवादी पार्टीका पर्सा जिल्ला अध्यक्ष प्रेमबाबु पटेल समान्य घाइते भएका छन् ।

व्यापारी र आन्दोलनकारीबीचको भिडन्तलाई रोक्न स्थानीय प्रशासनले वीरगन्जको घण्टाघर चोकमा भारी सङ्ख्यामा सुरक्षाकर्मी परिचालित गरेको छ ।