एन्टि–रेबिज खोपको अभाव नहुने: स्वास्थ्य मन्त्रालयसँग १० हजार भायल मौज्दात
काठमाडौँ, ११ असार । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले देशभर हाल करिब १० हजार भायल एन्टि–रेबिज खोप मौज्दात रहेको जानकारी दिएको छ। खोपको अभाव हुन नदिन मन्त्रालयले थप खोप आपूर्तिको प्रक्रिया समेत अघि बढाएको जनाएको छ।
मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीका अनुसार देशभरका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय अस्पतालका भण्डारहरूमा गरी हाल कुल १० हजार ११ भायल एन्टि–रेबिज खोप सुरक्षित छ।
मन्त्रालयले विश्व स्वास्थ्य सङ्गठनको सहयोगमा २ हजार ५०० भायल खोप प्राप्त गरिसकेको छ। यस्तै, थप ४ हजार ५०० भायल खोप आगामी केही दिनभित्रै आइपुग्ने सुनिश्चित भएको डा. अधिकारीले जानकारी दिनुभयो। खोपको नियमित आपूर्तिका लागि स्वास्थ्य सेवा विभागमार्फत खरिद प्रक्रिया समेत अघि बढिसकेको छ।
काठमाडौँको शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, टेकुमा मात्रै आगामी ४० दिनलाई पुग्ने खोप मौज्दात रहेको मन्त्रालयले जनाएको छ। यसले गर्दा उपत्यकामा तत्काल खोपको अभाव नहुने देखिएको छ।
कुकुर तथा अन्य जनावरको टोकाइबाट हुनसक्ने रेबिजको जोखिम कम गर्न मन्त्रालयले स्थानीय तहहरूलाई आवश्यक सहजीकरण गर्न आग्रह गरेको छ। मन्त्रालयले उपलब्ध खोपको व्यवस्थित वितरण र व्यवस्थापनका लागि सम्बन्धित सबै निकायहरूसँग निरन्तर समन्वय भइरहेको जनाएको छ। नियमित खरिद प्रक्रिया सम्पन्न भएपछि खोप आपूर्ति प्रणाली पूर्णरूपमा सहज हुने अपेक्षा गरिएको छ।