कक्षा १२ को नतिजाप्रति विद्यार्थीको आक्रोश: निष्पक्ष छानबिनको माग गर्दै माइतीघरमा प्रदर्शन
काठमाडौँ, ११ असार । कक्षा १२ को नतिजा सार्वजनिक भएसँगै त्यसमा त्रुटि भएको भन्दै विद्यार्थीहरू आन्दोलित भएका छन्। नतिजा प्रकाशन र मूल्याङ्कन प्रक्रिया न्यायोचित नभएको आरोप लगाउँदै विद्यार्थीहरूले बिहीबार काठमाडौँको माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन्।
प्रदर्शनमा सहभागी विद्यार्थीहरूले राष्ट्रिय परीक्षा बोर्डले छिटो नतिजा निकाल्ने बहानामा हजारौँ विद्यार्थीको भविष्यमाथि खेलबाड गरेको आरोप लगाएका छन्। रञ्जित कार्की, साहिल रिजाल, दिवस श्रेष्ठ, स्मृति खतिवडा, अंशु पन्त र साहेब साहलगायतका विद्यार्थीहरूको नेतृत्वमा भएको सो प्रदर्शनमा उनीहरूले नतिजाको पुनरावलोकन गर्न माग गरेका छन्।
प्रदर्शनकारीहरूले हातमा विभिन्न प्लेकार्ड बोकेर सरकारी रवैयाको विरोध गरेका थिए। उनीहरूले बोकेका प्लेकार्डमा “१२ वर्षको मेहनत खेर फाल्ने जिम्मेवार को?”, “हाम्रो भविष्य बर्बाद भयो, न्याय खोज्न कहाँ जाने?”, “नतिजामा भएको त्रुटि सच्याऊ” जस्ता नाराहरू लेखिएका थिए।
विद्यार्थीहरूलेे नतिजा प्रकाशन प्रक्रियाको निष्पक्ष छानबिन गरिनुपर्ने बताउँदै निःशुल्क रिटोटलिङ (पुनर्योग) को व्यवस्था हुनुपर्ने, उत्तरपुस्तिकाको पुनः परीक्षण गरिनुपर्ने, मूल्याङ्कन प्रक्रियामा पूर्ण पारदर्शिता कायम गरिनुपर्ने, विद्यार्थीहरूले नतिजाको विवाद केवल अङ्कसँग मात्र नभई उच्च शिक्षा हासिल गर्ने उनीहरूको अवसर र भविष्यसँग जोडिएको बताएका आफ्ना मागहरू सम्बोधन नभए देशभर सशक्त आन्दोलन गर्ने चेतावनी समेत उनीहरूले दिएका छन्।
विद्यार्थीहरू सडकमा उत्रिएर विरोध गरिरहँदा शिक्षा मन्त्रालयले भने नतिजा प्रकाशनमा कुनै पनि प्राविधिक वा प्रक्रियागत त्रुटि नभएको स्पष्ट पारेको छ। मन्त्रालयले नतिजा बोर्डको नियमानुसार नै सार्वजनिक गरिएको भन्दै आफ्नो बचाउ गरेको छ। यद्यपि, विद्यार्थीहरूले भने मन्त्रालयको स्पष्टीकरणलाई चित्तबुझ्दो नभएको भन्दै आन्दोलन जारी राख्ने बताएका छन्।