अत्याधुनिक प्रयोगशाला सञ्चालनमा

धनगढी । निजी क्षेत्रको प्रयासमा यहाँ अत्याधुनिक उपकरणसहितको प्रयोगशाला सञ्चालनमा आएको छ ।

रु दुई करोडको लागतमा स्थापना भएको ‘धनगढी डाइग्नोस्टिक एन्ण्ड रिसर्च सेन्टर नामको उक्त ‘ल्याब’ औपचारिक रूपमा शुक्रबारदेखि सुरु भएको हो ।

ल्याबमा अत्याधुनिक उपकरण र प्रविधिमार्फत अन्तर्राष्ट्रियस्तरको परीक्षण सेवा उपलब्ध हुने सञ्चालकले बताएका छन् । प्रयोगशाला सञ्चालन भएका अवसरमा निःशुल्क मिर्गौला तथा मधुमेह परीक्षण शिविरसमेत सञ्चालन गरिएको थियो जसमा दुई सय ५० जनाको परीक्षण गरिएको थियो । उद्घाटनका अवसरमा सञ्चालन गरिएको रक्तदान कार्यक्रममा १२ जनाले रक्तादन गरेका थिए ।

ल्याब, फार्मेसी र चिकित्सा क्षेत्रमा कार्यरत अनुभवी जनशक्ति मिलेर सञ्चालनमा ल्याइएको ल्याबमा गुणस्तरीय र तुलनात्मक रूपमा न्यून शुल्कमा जाँच गरिने सेन्टरका अध्यक्ष मुकुन्द जोशीले बताउनुभयो । ल्याबमा मधुमेह, थाइराइड, मिर्गाैला, कलेजो, रक्तअल्पत्ता, रक्तक्यान्सर, बाथ रोग, सिकलसेल र स्यालसेमियासम्बन्धी जाँच उपलब्ध रहेको सेन्टरका सचिव माधव जोशीले जानकारी दिनुभयो । ल्याब सञ्चालनमा आएसँगै कतिपय जाँचका लागि काठमाडौँ वा अन्यत्र जानुपर्ने बाध्यता हट्ने विश्वास गरिएको छ ।