एमालेले आज कैलालीको टिकापुरमा शक्ति प्रदर्शन गर्दै, कैलाली बन्दको प्रभाव कम

काठमाडौँ । नेकपा एमालेको मेची—महाकाली राष्ट्रिय अभियान आज बर्दियाको सबैभन्दा बढी थारु बाहुल्य रहेको राजापुर क्षेत्रबाट अघि बढ्ने भएको छ । राजापुुरमा आयोजित सभालाई एमालेका शीर्ष नेताहरुले सम्बोधन गर्दैछन् । राजापुरपछि एमालेको अभियान कैलाली प्रवेश गर्नेछ ।कैलालीको टीकापुरर शक्ति प्रदर्शनसहित जनसभाको तयारी भइरहेको एमाले सांसद गरिमा शाहले बताउनुभयो ।
एमालेको टीकापुर सभा र मेची महाकाली अभियानलाई लक्षित गरेर थरुहट तराई पार्टीले कैलाली बन्द आह्वान गरेको छ । बन्दको आंशिक प्रभाव परे पनि एमालेको अभियानलाई भने असर नगर्ने नेताहरुले बताए ।
टीकापुरमा डेढ वर्षअघि एक बालक सहित ७ प्रहरीको सामुहिक हत्या भएको थियो । थरुहट आन्दोलनकारीले प्रहरीको हत्या गरेपछि राज्य पक्षबाट दमन भएको आरोप लाग्दै आएको छ । टीकापुर काण्ड भएकै स्थान नजिक एमालेले सभा गर्दैछ ।सभामा थारु समुदायको सहभागिता बढाउन एमालेका स्थानीय नेताहरुले केही दिनदेखि तयारी गरेका छन् । एमालेले मेची महाकाली अभियान शुरु हुनुपूर्व कैलालीका नारदमुनि राना थारु र हनुमान चौधरीलाई केन्द्रीय कमिटीमा मनोनित गरेको थियो ।
चैत २ गते ।