नेपाली महिलाहरु साउदी अरबमा बेचिँदै

काठमाडौं । नेपाली महिलालाई कुवेतमा काम लगाइदिने भन्दै गिरोहले साउदी अरेबिया लगेर घरेलु कामदारका रूपमा बेच्ने गरेको खुलेको छ।
नेपालले महिलालाई घरेलु कामदारका रूपमा साउदी जान प्रतिबन्ध लगाए पनि गिरोहले झुक्याएर कुवेत हुँदै त्यहाँ पु¥याउने गरेका छन् । साउदीमा घरमा काम गर्ने महिलामाथि मालिकबाट शारीरिक, मानसिक र भौतिक यातना दिइने सार्वजनिक भएपछि केही वर्षअघि सरकारले नेपाली महिलालाई त्यहाँ पठाउन रोक लगाएको थियो । विभिन्न गिरोहले नेपाली महिलालाई कुवेतमा आकर्षक काम र दामको प्रलोभन देखाई त्यहाँ पु¥याएपछि साउदी पठाउने गरेको पीडितको भनाइ छ ।
‘मलाई कुवेतमा चिकित्सा क्षेत्रमा जागिर लगाइदिन्छु भनेर पहिला त्यहाँ पु¥याए । त्यसपछि साउदी’, साउदी अरेबियाको रियादस्थित नेपाली दूतावासको सेल्टरमा रहेकी एक महिलाले नागरिकसँग टेलिफोनमा भनिन्, ‘पछि थाहा पाएँ, कुवेत ल्याएपछि मलाई साउदीमा बेचिएको रहेछ ।’ ती महिलालाई एक महिनाअघि दमामबाट उद्धार गरी दूतावासले आफ्नो सेल्टरमा ल्याएको हो ।
साउदीस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत आनन्दप्रसाद शर्माका अनुसार दूतावास सेल्टरमा अहिले यस्ता १६ महिला छन् । उनीहरू सबैलाई उद्धार गरी ल्याइएको हो । आकर्षक काम र दामको प्रलोभनमा कुवेत पुगेका उनीहरूलाई पछि साउदीका विभिन्न घर मालिकलाई बेचिएको थियो । मालिकको यातना सहन नसकेपछि घरबाट भागेका उनीहरूलाई दूतावासले उद्धार गरी सेल्टरमा राखेको हो । सेल्टरमा आएका धेरैजसो यातनाका कारण मानसिक रूपमा विक्षिप्त छन् ।
‘कुवेत हुँदै साउदी पुर्याइएका र वर्षौंदेखि यातना भोगिरहेका १६ महिलाको उद्धार गरी अहिले हाम्रो सेल्टरमा राखेका छौं । यी त हाम्रो सम्पर्कमा आएका मात्र हुन् । साउदीका विभिन्न ठाउँमा यसरी कष्टकर जीवन बिताउन बाध्य नेपाली महिला कति छन् यकिन संख्या छैन’, शर्माले भने । बितेका दुई वर्षमा दूतावासले कुवेतबाट साउदीमा बेचिएका करिब साढे दुई सय नेपाली महिलाको उद्धार गरिसकेको छ । अधिकांशलाई स्वदेश फिर्ता पठाइएको छ । पछिल्ला दिन साउदी सरकारले १५ हजार साउदी रियाल करिब चार लाख रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने नियम बनाएपछि यसरी उद्धार गरिएका नेपाली महिलालाई स्वदेश ल्याउनसमेत कठिनाइ भएको छ ।
सुरुमा नेपाली महिलालाई नेपालमा रहेका एजेन्टले विभिन्न प्रलोभनमा पार्छन् । नागरिकता र पासपोर्टसमेत एजेन्टले नै बनाइदिन्छन् । कुवेतका आकर्षक क्षेत्रमा काम दिलाइदिने प्रतिबद्धता गर्छन्। प्रलोभनमा पर्ने महिलालाई एजेन्टले सुरुमा कुवेत पठाउँछन् । कुवेतमा १०–१५ दिन राखेपछि भिजिट भिसामा उनीहरूलाई साउदी पु¥याइन्छ, जुन बेचिने महिलाले धेरैपछि मात्र भेउ पाउँछन् ।
‘साउदीमा बेचिएका महिलामाथि विभिन्न शोषण भएको पाइएको छ । तलब नदिई काम लगाउने, कुटपिटदेखि यौनशोषणसम्म भएको हामीले पाएका छौं,’ कार्यवाहक राजदूत शर्माले भने, ‘नेपाली महिलालाई साउदीमा बेच्नका लागि केही मानिसले कुवेतमा कार्यालय खोलेका छन् भन्ने सुनिएको छ ।’
साउदी र कुवेतबीच खुला सिमाना छ । कुवेत र साउदी दुवैतर्फ घर हुने धेरै छन् । यसैको फाइदा उठाउँदै गिरोहका सदस्यले कुवेत पु¥याएका नेपाली महिलालाई साउदीका घर मालिकलाई बेच्छन् ।
साउदीमा घरबाहिर महिलालाई एक्लै हिँड्न छुट छैन । एक्लै हिँडेको प्रहरीले देखे पक्राउ गर्छ । यातना सहन नसकेर घरबाट भाग्दा साहुले प्रहरीलाई फोन गरी सामान चोरेको आरोपमा वर्षौसम्म थुनाउँछन्। घरधनीको अनुमतिबिना प्रहरी भित्र पस्न नपाउने कानुन साउदीमा छ ।
चैत २१ गते ।