विदेशी विज्ञापन हटाइए टेलिभिजन बन्द गर्ने घोषणा
काठमाडौं । सरकारले ‘क्लीन फीड’ लागू गरे साउनको सुरूवातबाटै केबल टिभी र डीटीएच सञ्चालकहरुले नेपालमा प्रशारण हुने सबै टेलिभिजन बन्द गर्ने घोषणा गरेका छन् । विदेशी विज्ञापन हटाउने सो ब्यवस्था नेपालको संविधान तथा राष्ट्रिय प्रसारण ऐन, २०४९ को विपरित रहेको भन्दै उनीहरुले नीति फिर्ता नभए साउन १ गतेबाट सबै टेलिभिजन सेवा बन्द गर्ने चेतावनी दिएका हुन् ।
नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुमा लगानी भएको अर्बौं रुपैयाँको नोक्सानी हुने भएकाले विज्ञापन रहित नीति रद्द गर्न उनीहरुले माग गरेका छन् । यो माग राख्दै उनीहरुले प्रधानमन्त्री तथा नेपाल सरकार सूचना तथा सञ्चार मन्न्त्रालयका सचिव समक्ष ज्ञापनपत्र पेश गरेका छन् । नेपाल केवल टेलिभिजन महासंघ, नेपाल केवल टेलिभिजन व्यवसायी महासंघ र डिस होम नेपालले संयुक्त विज्ञप्ति जारी गरेर यस्तो चेतावनी दिएका छन् ।
विज्ञापन रहित नीति, २०७३ लागु भएमा नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुका लागि बिक्रियोग्य बस्तु नभई व्यवसाय सञ्चालन गर्न नसकिने भएकाले सरकारले असार मसान्तभित्र विज्ञापनरहित नीति, २०७३ रद्द नगरेमा आगामी साउन १ गतेदेखि नेपाली डीटीएच कम्पनी तथा केबल कम्पनीहरुबाट प्रशारण भई आएका स–शुल्क, निःशुल्क, स्वदेशी, विदेशी तथा स्थानिय केवल टिभी लगायत सम्पूर्ण टेलिभिजनहरु बन्द गर्न बाध्य हुने चेतावनी टेलिभिजन सञ्चालकहरुले दिएका छन् ।