वीरगञ्ज महानगरपालिकामा भारी मतसहित एमाले विजयी हुन्छ—बसरूद्दिन अन्सारी,एमालेका तर्फबाट मेयरका उम्मेदवार, वीरगञ्ज महानगरपालिका

संविधानसभाको दोस्रो निर्वाचनमा नेकपा माओवादी केन्द्रका तर्फबाट सभासदको उम्मेदवार बन्नुभएका बसरूद्दिन अन्सारी एमाले प्रवेश गरेसँगै अहिले निकै चर्चा चलेको छ । नेशनल मेडिकल कलेज तथा शिक्षण अस्पताल वीरगन्जका प्रबन्ध निर्देशकसमेत रहनु भएको अन्सारी एमाले प्रवेश गरेसँगै एमालेले यही असोज २ मा हुने स्थानीय निर्वाचनका लागि वीरगञ्ज महानगरपालिकाबाट मेयर उम्मेदवारमा अघि सारेको छ ।   केही समय अघि एमाले स्थायी कमिटी सदस्य तथा प्रदेश नम्बर २ का इन्चार्ज सत्यनारायण मण्डलले वीरगन्जमा अवीर र मालासहित स्वागत गरी एमालेमा प्रवेश गराउनु भएका अन्सारी अहिले चुनावी प्रचार–प्रशारमा सक्रिय भन्नुभएको छ ।  दोस्रो चरणको स्थानीय निर्वाचनमा खासगरी मधेशमा ‘जित्नेलाई पार्टीमा भित्र्याएर उम्मेदवार बनाउने’ एमालेको रणनीति अनुसार नै अन्सरीलाई पनि एमाले प्रवेश गराएको हो ।  प्रदेश नम्बर २ को एक मत्र महानगर  वीरगञ्ज महानगरपालिकामा एमालेको तर्फबाट मेयरको उम्मेदवार घोषणा गरिनुभएका अन्सारीले जसरी पनि जित्ने दाबी गर्दै आउनु भएको छ ।  एमालेले आफुलाई उम्मेदवार बनाएपछि  वीरगन्जको मेयरमा जितेर देखाउने प्रतिबद्धतासहित चुनावी अभियानमा जुटेको बताउनु भएको छ ।  अन्सारीको एमाले प्रवेशसँगै राजपा र कांग्रेसका केही कार्यकर्ता पनि एमाले प्रवेश गरेका छन् । त्यसले पनि वीरगञ्जमा एमाले बलियो बनेको छ ।  मुस्लिम समुदायको बाहुल्यता रहेको वीरगञ्जमा अन्सारीको एमाले प्रवेशले थप बलियो बनेको छ । अन्सारीसँग यिनै विषयमा केन्द्रित भएर मैत्रिन्युजका लागि  मोहन बास्तोलाले गरेको कुराकानीः 

स्थानीय निर्वाचन आउन केही हप्ता मात्र बाँकी छ । तयारी कस्तो हुँदैन ?

वीरगञ्जमा एमालेले यो पटक जसरी पनि जित्नु पर्ने बाध्यता छ । हामी त्यही कुरालाई ख्याल गरेर चुनावी अभियानमा जुटेका छौँ । दिनहुँ जसो भेला, बैठक र छलफलमा हामी केन्द्रित भएका छौँ । जे–जति गतिविधि अहिले वीरगञ्जमा भएका छन्, सबै चुनाव केन्द्रित नै भएका छन् । वीरगञ्जका जनता अहिले विकासको प्रतिक्षामा छन् । त्यति भएर यहाँका जनताले विकासप्रेमि मेयर चाहेका छन् । त्यो मैले पूरा गर्न सक्छु भन्ने पनि यहाँका जनताले बुझेका छन् । एमाले विकासप्रेमि पार्टी हो भन्ने पनि यहाँका जनतालाई राम्ररी थाहा छ । त्यसैले यहाँ एमालेले यो पटक विजयको झण्डा फहराउने निश्चित छ ।  बाढी र डुवानका कारण चिन्तामा डुवेको प्रदेश नम्बर २ अब फेरि यही असोज २ मा हुने प्रदेश नम्बर–२ को निर्वाचनको तयारीमा निकै व्यापकरुपमा अघि बढिरहेको छ । अन्य राजनीतिक दलले पनि चुनावी अभियानलाई तीव्र बनाएका छन् । चुनावी अभियानमा एमाले अहिले निकै अघि देखिएको छ । अहिले प्रदेश नम्बर–२ का सबै जिल्लामा चुनावी प्रचार–प्रसार गर्ने, चुनावका लागि भेला, बैठक गर्ने, संगठनका गतिविधिलाई तिव्र बनाउने जस्ता काममा एमाले सक्रिय बनेको छ । ६ वटा प्रदेशमा एमाले पहिलो शक्ति बने पनि प्रदेश नम्बर २ मा भने एमाले निकै कमजोर रहेको भन्दै त्यो प्रदेशबाट एमालेले जित्ने निकै कम सम्भावना छ भन्दै आएका छन् ।

यसैबेला तपाईँ एमालेका तर्फबाट मेयरको उम्मेदवार बन्नुभएको छ । कत्तिको सहज देख्नु भएको छ ?

  प्रदेश नम्बर २ का बारेमा अन्य राजनीतिक दलहरुले जेजस्ता हल्ला फैलाएका छन् ती सबै गलत हुन् । यहाँका जनताले एमालेलाई विकासप्रेमि पार्टीका रुपमा हेरेका छन् । मैले त्यही भएर एमाले प्रवेश गरेको हुँ र मैले एमालेबाट मेयरको उम्मेदवारमा टिकट लिदैँ गर्दा भारी मतले मेरो पार्टी विजयी हुने विश्वास लिएको छ ।  अहिले नेकपा (एमाले)लाई तराई विरोधीको हल्ला चलाइएको छ । तर, एमाले तराई विरोधी होइन । यो सन्देश एमालेले तराई–मधेसका जनतालाई दिएको छ । एमाले तराईको विकासमा सक्रिय छ भन्ने यहाँका जनताले राम्ररी थाहा पाएका छन् । अन्य राजनीतिक दलहरुले जेजस्ता हल्ला चलाए पनि यहाँका जनता पत्याउने पक्षमा छैनन् । राष्ट्रियतका मुद्धा कमजोर भएका बेला राष्ट्रियताको मुद्धा उठाउने पार्टी एमाले हो । हाम्रो पार्टी अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री र विष्णु पौडेल अर्थमन्त्री रहेका बेला ल्याएको बजेटले मधेसका जनताको विकासको सपनालाई मूर्तरुप दिने प्रयास गरेको छ । मधेसको विकासमा एमाले नेतृत्वको सरकारले निकै मेहतन गर्यो यो सबै कुरा यहाँका जनताले थाहा पाएका छन् । स्थानीय तहको पहिलो र दोस्रो चरणको निर्वाचनमा एमालेले ल्याएको मत परिणाम त्यसैको कारण हो ।  यस कारण पनि प्रदेश नम्बर–२ का जनता एमालेको पक्षमा देशव्यापि लहर छ भन्ने कुरामा विश्सस्त बनेका छन् । त्यसैले असोज २ मा हुने प्रदेश नम्बर–२को निर्वाचनबाट एमाले मधेसमा पनि पहिलो पार्टी बन्ने निश्चित छ । यसको मतलब वीरगञ्ज महानगरपालिकाको मेयर एमालेकै तर्फबाट विजयी हुन्छ होइन त ? त्यसमा शंका गर्नुपर्ने कुनै कारण छैन । त्यो केही हप्तापछि प्रमाणित नै हुने छ । मैले अघि पनि भने– प्रदेश नम्बर–२ मा एमाले बलियो छ । अझ वीरगञ्जका बारेमा त म आफै पनि निकै जानकार छु । यहाँका जनता निकै सचेत छन् । यहाँका जनता विकास चाहन्छन् । यहाँका जनतालाई विकास चाहिएको छ । त्यसैले एमालेले पनि मलाई यही चाहनाका साथ उम्मेदवार बनाएको हो । मैले व्यक्तिगत रुपमा पनि यो महानगरपालिकामा गरेको विकासले यहाँका जनता प्रभावित भएका छन् । अझ मलाई एमालेका तर्फबाट उम्मेदवारका रुपमा अघि बढाएपछि जनता अब मेयर एमालेले जित्छ र यहाँ विकासले गति लिन्छ भन्नेमा ढुक्क छन् । अझ भन्ने हो भने यहाँका जनताले पार्टीलाई भन्दा पनि विकास प्रेमी व्यक्तिलाई खोजेका छन् । म एमालेका तर्फकाट उम्मेदवार बनेपछि यहाँका जनताले पार्टी र व्यक्ति दुवै ठीक छनोट भएको भन्दै उत्साह व्यक्त गरेका छन् ।

मतदाताबाट कस्तो प्रतिक्रिया पाउनु भएको छ ?

वीरगञ्जका जनतालाई मेरो बारेमा जानकारी दिइरहन आवश्यक छैन । उहाँहरुले मलाई राम्ररी चिन्नुभएको छ । यहाँका जनता एमालेले मेयर जित्यो भने मात्र विकास हुन्छ भन्नेमा पनि ढुक्क छन् । त्यसैले हामी जहाँजहाँ गयौँ, त्यहाँत्यहाँका जनताले एमाले र मेरो विषयमा खुशी व्यक्त गरेका छन् । एमाले मात्र होइन कांग्रेस र माओवादीका साथीहरुले यो पटक मलाई विजयी बनाउन चाहेको मैले महशुस गरेको छु । यहाँका जनताले यस अघि निर्वाचित जनप्रतिनिधिले सोचे जस्तो काम गर्न नसकेको अथवा उहाँहरु ‘टेस्टेट’ भएको भन्दै अब नयाँ अनुहारको खोजि गरेका छन् । एउटै पार्टी वा दललाई पटक–पटक नेतृत्व दिने कुरा राम्रो होइन भन्ने यहाँका जनताले महशुस गरेका छन् । 

तपाईँलाई मेयर बनाउदा एमाले भित्र पनि त असन्तुष्टि होला नि ?

 छैन, मलाई एमालेकै साथीहरुले तपाईँ नेतृत्वमा आउनुपर्छ भनेर आग्रह गरेर ल्याएको हो । एमालेका साथीहरुकै आग्रहमा मलाई एमालेका तर्फबाट उम्मेदवार बनाएको हो । मैले कमाउनका लागि होइन वीरगञ्जको विकासका लागि उम्मेदवारी दिएको हुँ भन्ने पनि धेरैलाई जानकारी छ । मलाई कमाउनुको कुनै आवश्यकता छैन । म मेयर निर्वाचित भएपछि यहाँको विकासमा ध्यान दिनेछु । म मेयर नहुँदै पनि यहाँ मेडिकल कलेज स्थापना गर्नेलगायतका काममा सक्रिय बनेको छु । यो यहाँका जनताले देखेका छन् । कांग्रेस–माओवादी र मधेसी दलका मतदाताहरुले पनि यहाँ पटक–पटक नेतृत्वमा पुगेर पनि विकास गर्न नसकेको, उहाँहरुले भाषण मात्र गरेको अनुभव राम्ररी प्राप्त गर्नुभएको छ । त्यसैले एमालेले मात्र होइन कांग्रेस–माओवादीले पनि खोजेको व्यक्ति मै हुँ ।

 तपाईँले धेरै पार्टी चाहरेको पनि आरोप लाग्ने गरेको छ । यसले पनि समस्या होला नि ? 

मलाई आरोप लगाउन कुनै कुरा नभेटेपछि लगाएको आरोप हो, यो । मैले सत्य कुरा गर्नुपर्छ । म पहिला कांग्रेस थिएँ । त्यसपछि माओवादीले पनि मलाई एक पटक सांसद्का लागि उम्मेदवार बनाएकै हो । मैले ती दुबै पार्टीमा बसेर काम गरेको छु । मैले ती दलका नेताहरुलाई राम्ररी बुझेको पनि छु । उहाँहरुमा विकासको चाहना मैले पाउन सकिन । एमाले विकासप्रेमि पार्टी हो भन्ने भएपछि मैले एमालेबाट उम्मेदवार बन्ने निर्णय लिएको हुँ । म विजयी भएपछि वीरगञ्जलाई कस्तो बनाउने भन्ने योजनाहरु अघि सारेको छु । मेरो योजनाबाट यहाँका जनता उत्साही हुनुभएको छ । उहाँहरु सबैले एक पटक मलाई मेयर निर्वाचित गरेरै छाड्ने योजना बनाएर अघि बढ्नु भएको छ । म मेयर निर्वाचित भएपछि यहाँका जनताको मनोभावनालाई ख्याल गरेर काम गर्नेछु । 

एमाले नै प्रवेश गर्नुको कारण ?

मैले नेपाली कांग्रेस र माओवादीमा पनि बसेर काम गरेँ । ती पार्टीका कार्यकर्ता मैले त्यति इमान्दार पाउन सकिन । एमाले ‘क्याडरवेस’ पार्टी हो । यो पार्टीका कार्यकर्ता अरु पार्टीको तुलनामा धेरै इमान्दार छन् । मैले अघि पनि भने यहाँका जनताकाले एमाले मधेस विरोध होइन भन्ने थाहा पाएका छन् । कांग्रेस–माओवादीले मधेसका जनतालाई भुलभुलैयामा राख्ने काम गरे । यो कुरा पनि यहाँका जनताले थाहा पाए । त्यसैले अब मधेसको नेतृत्व गर्ने पार्टी एमाले मात्र हो भन्ने कुरा बुझेर एमाले प्रवेश गरेको हुँ ।