क्रिकेटका धरोहर शाहको निधन

 

काठमाडौं । जीवनभर क्रिकेटको साधनामा लीन जयकुमारनाथ शाहले निधन भएको छ ।
‘म ८९ वर्षको भएँ, अर्को वर्ष ९० पुग्नेछु । तपाईंहरूलाई थाहा छ, क्रिकेट क्रिजमा ब्याटिङ गरिरहेको ब्याट्सम्यानका लागि ९० रनको विशेष अर्थ हुन्छ । शतकको नजिक पुगेकाले ९० रनमा खेलिरहेको ब्याट्सम्यान आउट हुने कुरामा निकै सतर्क देखिन्छ । ऊ बलरहरूका हरेक आक्रमणलाई सावधानीपूर्वक झेल्दै कुनै पनि हालतमा शतक पूरा गर्ने धाउन्नमा रहन्छ । यतिबेला म पनि उमेरको त्यही मोडमा उभिएको छुु, केही दिनअघि एक कार्यक्रममा सम्मानित भएपछि शाहले ठट्यौली पारामा भनेका थिए ।
तर दुर्भाग्य, उनले जीवनको ९० औं वसन्तमा पाइला टेक्न पाएनन्, अर्थात् क्रिकेटकै भाषामा भन्नुपर्दा उनले ‘नर्भस नाइन्टीु को अवस्थामा पुगेर ‘शतकु का लागि संघर्ष गर्न पाएनन् । पहिले खेलाडी अनि करिब चार दशक कुशल व्यवस्थापकका रूपमा आफैंले मलजल गरी अन्तर्राष्ट्रिय स्तरसम्म चर्चाको शिखरमा पुर्‍याएको नेपाली क्रिकेटमा पछिल्लो समय मौलाएको बेथितिबाट पनि शाह विरक्तिएका थिए । त्यसैले होला, कार्यक्रममा उनले नेपाली खेलकुद क्षेत्रमा मौलाउँदै गएको अनावश्यक राजनीतिक हस्तक्षेप र खेल पदाधिकारीमा देखिएको स्वार्थी मनोवृत्तिप्रति पनि तिक्तता पोखेका थिए ।