खटाएको ठाउँमा नजाने कर्मचारीले जागिर छाड्नुको अर्को विकल्प छैन—पद्मा अर्याल, राज्यमन्त्री, स्वास्थ्य तथा जनसङ्ख्या


स्याङ्जा क्षेत्र नम्बर–२ बाट संघीय संसद्को निर्वाचनमा नेपाली काँग्रेसका वरिष्ठ नेता गोपालमान श्रेष्ठलाई भारी मतले पराजित गर्दै सांसद् बन्नुभएकी पद्मा अर्याल अहिले स्वास्थ्य राज्यमन्त्री हुनुहुन्छ । उहाँसँग स्वास्थ्य मन्त्रालयले गरेका अहिलेसम्मका गतिविधि, आगामी योजना,मन्त्री निर्वाचितपछिका उतार–चढावलगायतका बारेमा मोहन बास्तोलाले गरेको कुराकानीः

स्वास्थ्य मन्त्रालयको जिम्मेवारी पाएपछि तपाईँको अनुभव कस्तो रह्यो ?

मैले बाहिरबाट स्वास्थ्य मन्त्रालयलाई जसरी बुझिरहेको थिएँ वा हेरिरहेको थिएँ । त्यो भन्दा फरक मन्त्रालयको रुपमा मैले पाएको छु । स्वास्थ्य मन्त्रालय भनेको प्रत्यक्ष जनतासँग सरकोकार राख्ने वा जनतासँग जोडिएको मन्त्रालय हो । यो मन्त्रालय मानिस–मानिसको जीवन रहने कि नरहने भन्ने विषयसँग पनि यो मन्त्रालय प्रत्यक्ष जोडिएको छ । त्यसैले पनि यो अत्यन्त संवेदनशील मन्त्रालयका रुपमा लिनुपर्छ भन्ने मेरो मान्यता छ । त्यसकारण पनि यहाँबाट प्राप्त हुने सेवालाई निकै गम्भीर भएर सेवा प्रवाह गर्नुपर्छ भन्ने पनि मैले अनुभूति गरेको छु ।

अहिले तपाईँले राज्यमन्त्रीकै रुपमा काम गरिरहनुभएको छ । यद्यपि राज्यमन्त्री नै भएपछि फूल मन्त्रालयको जिम्मेवारी तपाईँको काँधमा छ । यस्तो बेलामा कर्मचारीहरुबाट काम लिन केही असहज महशुस पनि त भएको होला नि ?

फुल मन्त्री र राज्यमन्त्रीको जिम्मेवारीमा केही भिन्नता अवश्य हुन्छ नै । यहाँ पनि मैले राज्यमन्त्रीकै हैसियतका काम गर्दा केही असजिलाहरु अवश्य भएका छन् । यद्यपि नियमित कामका लागि अहिले त्यस्तो अप्ठ्यारो मैले महशुस गरेको छैन । सबै काम प्रणाली अन्र्तरगत नै गर्ने भएकाले पनि त्यति धेरै असजिलो भएको छैन । तर, अब हामी केही महत्वपूर्ण काम गर्दै छौँ ।
नयाँ आर्थिक वर्षका लागि कसरी अघि बढ्ने भन्ने सन्दर्भमा केही नयाँ कुरा कसरी ल्याउने भन्ने विषयमा पनि हामी छलफलमा केन्द्रित भएका छौँ । यसमा चाहिँ केही असर गर्ने हो कि भन्ने मलाई चिन्ता छ । तर, अहिलेसम्म कर्मचारीबाट सकारात्मक नै सहयोग प्राप्त भएको छ । केही–केही कुरामा चाहिँ नभएका कुरालाई पनि भैसक्यो नि भन्दै हल्ला गरेर विवादमा ल्याउने प्रयासहरु पनि बेलावखत भएका छन् । यस्तो बेलामा चाहिँ नराम्रो लाग्ने रहेछ । कतिपय कुरा त यो सरकार गठन हुनु भन्दा अघिकै निर्णयहरुलाई समेत पत्रपत्रिकामा हाल्दिएर नयाँ मन्त्रीले ‘यो गरिन’ भनेर प्रचार गर्ने अभियान नै चलाएका छन् । त्यो अभियानमा कर्मचारीहरु नै संलग्न रहेको भन्दा मलाई पनि अनौठो लागेको छ । हामीले त्यस्ता कुराको खोजी शुरु गरेका छौँ । नभएका कुरा पनि भएका हुन भन्दै हल्ला गर्ने, मन्त्रालयको गरिमा र विश्वासलाई कमजोर पार्ने, कुनै कुरामा सामेल नभएको व्यक्तिलाई सामेल भएको भन्दै अतिरञ्जना ढंगले प्रचार गर्ने, विवादमा ल्याउने जस्ता काम जसरी भैरहेका छन् । त्यस्ता कार्यलाई माफि दिइने छैन । मन्त्रालय यो सन्दर्भमा निर्मम बन्छ ।
महिलाले मन्त्रालय सम्हालेपछि केही नयाँपन आउँछ भन्ने विश्वास गर्न सकिन्छ । अझ तपाईँ त जिल्लामा समेत पार्टीको नेतृत्व गरेर आएको व्यक्ति । नेपाली काँग्रेसका वरिष्ठ नेतालाई नै पराजित गरेर आएको व्यक्ति । केही नयाँपन यो मन्त्रालयबाट जनताले खोजेका छन् । सम्भव होला ?
असजिलो र चुनौतिलाई पार गर्ने व्यक्तिले नै सफलता प्राप्त गर्ने हो । मलाई पनि असजिला र चुनौतिपूर्ण कार्यमा हात हाल्न मन पर्छ । त्यसैले म त्यस्ता कुरासँग डराएर होइन सामना गरेर अघि बढ्छु । केही गर्न सकिन्न भनेर हात बाँधेर बस्ने मेरो बानी छैन । यो प्राविधिक मन्त्रालय हो । यहाँ धेरै चुनौति र असजिला कुरा छन् । विगतका केही विकृति पनि यहाँ रहेछन् । यहाँ केही सिष्टम बसाल्नु पर्ने चुनौति पनि रहेछ । एक ढंगले भन्ने हो भने यहाँ मन्त्रालयप्रतिको छवी विगारेको अवस्था पनि रहेछ । म सजिलोबाट मात्र होइन असजिलोबाट पनि काम गर्न सकिन्छ भन्ने विश्वासका साथ आएको भएकाले पनि धेरै गर्न सकिन्छ भन्नेमा विश्वस्त छु ।

तपाईँहरुले चुनावी घोषणापत्रमै एक पालिका एक अस्पतालको नारा राख्नु भएको छ । सबै भन्दा बढि विकृति पनि यही मन्त्रालयमा छ । यो कत्तिको चुनौतिपूर्ण छ ?

मैले यो मन्त्रालयको जिम्मेवारी सम्हालेदेखि नै सुधारका कामहरु शुरु गरेकी छु । मैले शुरु मै अर्थात मैले जिम्मेवारी पाएको तेस्रो दिनमै कर्मचारीहरुको बैठक राखेर धूम्रमान निषेधित क्षेत्र भनेर हामीले घोषणा गरे पनि व्यवहारमा लागु नभएको अवस्थाको ख्याल गरेर त्यसको कार्यान्वयन आफूबाटै शुरु गर्ने भनेर यो मन्त्रालयमा आउने कर्मचारी र अन्य कसैले पनि सुर्तीजन्य पदार्थ बोकेर नआउने भनेर कडाईका साथ रोक्यौँ । हामीले गेटमै त्यसको चेक–जाँच गर्ने काम गर्यौँ । सुरुका दिनमा हामीले त्यसरी चेकजाँच गर्दा एक बाल्टि हुन्थ्यो । अहिले म मन्त्रालयबाट बाहिर निस्किदा झुक्किएर दुई–तीन पोका मात्र हुन्छ । यो मन्त्रालयमा भएको शुद्धिकरणको नमुना हो । हामीले सरसफाईमा पनि ध्यान दिएका छौँ । हामीले त्यसको थालनी सौचायलबाट शुरु गरेका छौँ । अहिले मन्त्रालयका सौचालय पहिलाको तुलनामा निकै सफा हुने गरेका छन् । यो पनि एउटा सकारात्मक थालनी हो भन्ने मैले ठानेकी छु ।
हामीले नीति नभई केही गर्न सकिन्न भनेर मैले नीति बनाउने कुरालाई पनि ध्यानमा राखेर त्यो कुराको थालनी गरेकी छु । डिजी नियुक्ति गर्ने, स्थानीय तहसम्म औषधिको सहज उपलब्धता गराउने, सुरक्षित मातृत्वलाई ध्यानमा राखेर प्रजनन्सँग जोडिएका कुरालाई पनि हामीले अभियानकै रुपमा अघि बढाउने र त्यसमा देखिएका समस्याको समाधान गर्ने थालनी गरेका छौँ । हामी आकस्मिक मातृत्व कोष स्थापना गर्ने र प्रत्येक स्थानीय तहमा तीन महिनासम्म यो अभियान सञ्चालन गरेर प्रभावकारी बनाउने कुराको पनि थालनी गर्ने तयारी गरेका छौँ ।
अस्पतालहरुको सरसफाई गर्ने, अस्पतालमा लाइने बस्ने कुराको अन्त्य गर्ने जस्ता कुरामा पनि हामीले ध्यान दिएका छौँ । त्यसका लागि हामीले अस्पताल व्यवस्थापनसँग छलफल गर्ने, नीति बनाउने जस्ता कुरालाई पनि अघि बढाएका छौँ । यसैको थालनी हामीले वीर अस्पतालबाट शुरु गरेका छौँ । अस्पताल सफा राख्ने अभियानको थाली हामीले वीर अस्पतालबाटै शुरु गर्ने तयारी गरेका छौँ । जहाँसम्म एक पालिका एक अस्पताल भन्ने नारा छ । हामी यो कार्यान्वयको लागि आगामी आर्थिक वर्षबाटै शुरु गर्ने छौँ । यो हाम्रो मात्रै होइन सरकारको पनि नारा हो । त्यसैले हामी गम्भीर भएर यो कार्यान्वयनमा लाग्ने छौँ ।

अहिले खटाएको ठाउँमा कर्मचारी नजाने, काममा अप्ठ्यारो सिर्जना गर्ने जस्ता समस्या देखिएका छन् । तपाईँको मन्त्रालयमा तस्तो छ ?

केही–केही समस्या देखिएका छन् । हामीले त्यस्ता समस्या आएको खण्डमा कडाइका साथ अघि बढाउने छौँ । स्वास्थ्य मन्त्रालय भनेको यस्तो मन्त्रालय हो । जहाँ खटाएको ठाउँमा कर्मचारीले जान्न भन्नै पाउँदैनन् । यहाँ अरु कर्मचारी पठाएर हुँदैन । त्यहाँ विज्ञ वा प्राविधिक व्यक्ति नै जानुपर्छ । त्यसैले खटाएका ठाउँमा कर्मचारी जान्न भन्छन् भने छाड्नुको अर्को विकल्प छैन । म यो मन्त्रालयमा रहुन्जेल केही परिवर्तनको अनुभूति दिएरै छाड्ने छु ।