आठ सहरमा ‘रोज’को कन्सर्ट

काठमाडौँ । फिल्म ‘रोज’ को प्रोडक्सन युनिटले मुलुकका आठ मुख्य सहरमा कन्सर्ट गर्ने भएको छ । २२ भदौबाट देशव्यापी प्रदर्शनमा आउन लागेको यो फिल्मको टिमले पोखरा, नारायणगढ, इटहरी, धरान, दमक, विर्तामोडलगायतका थलोमा प्रमोश्नल कन्सर्ट गर्न लागेको हो ।
निर्देशक निरक पौडेलका अनुसार पोखराबाट १४ भदौदेखि कन्सर्ट सुरु हुनेछ । पोखराको मिडटाउन ग्यालरी अगाडि ‘रोज’का कलाकारले दर्शक नचाउने छन् ।

यस्तै भदौ १५ मा औद्योगिक नगरी बुटवलमा र १६ मा नारायणगढमा कन्सर्ट गरिने उनले जनाए । यसपछि भदौ १७ मा इटहरी र धरानमा १८ मा दमक र बिर्तामोडमा कन्सर्ट गरेर टोली काठमाडौंका लागि फर्कने छ । क्राइम थ्रीलर ड्रामा जानराको भनिएको यो फिल्मको कन्सर्ट यात्रामा मुख्य कलाकार प्रदीप खडा सहित नेपाल आइडलको सेकेन्ड रनर अप गायक प्रताप दास र फिल्मकै बाँकी कलाकार प्रस्तुत हुनेछन् ।

गोपीकृष्ण मूभिज र आरोही इन्टरटेनमेन्टद्वारा निर्मित यो फिल्मले भदौ २० गते काठमाडौंबाट कन्सर्ट यात्रा टुंग्याउने बताइएको छ ।