बंगलादेशलाई २–० गोल अन्तरले हराएर नेपाल सेमिफाइनलमा प्रवेश
काठमाडौँ । नेपाल समूह विजेताका रुपमा साफ च्याम्पियनसिप फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार भएको समूह चरणको अन्तिम खेलमा नेपालले बंगलादेशलाई २–० गोल अन्तरले हराएर सेमिफाइनलमा प्रवेश गरेको हो ।
अघिल्लो खेलमा पाकिस्तानले भुटानलाई ३–० ले हराएपछि अन्तिम चारमा स्थान सुरक्षित गर्न नेपाललाई अनिवार्य जित चाहिएको थियो । तर, आयोजक बंगलादेशलाई भने बराबरी भए पुग्थ्यो । खेलको ३३ औं मिनेटमा बिमल घर्ती मगरले नेपालको तर्फबाट एक गोल गरेपछि बंगलादेशको अन्तिम चारमा स्थान सुरक्षित हुने सपना कमजोर बनेको थियो । विमलले करिब ३५ यार्ड टाढाबाट प्रहार गरेको बल बंगलादेशको गोलरक्षक मोहम्मद सहिदुल आलमको हातमै परेको थियो तर, उनले रोक्न सकेनन् ।
५४औं मिनेटमा कप्तान भरत खवासको प्रहार बंगलादेशका गोलरक्षकले उत्कृष्ट बचाउ गरे भने निराजन खड्काले प्रहार बारमाथिबाट बाहिरियो ।
निर्धारित ९० मिनेटको अन्तिम मिनेटमा स्ट्राइकर नवयुग श्रेष्ठले गोल गर्दै नेपालको जित सुनिश्चित गरे ।
जितसँगै समूह एमा रहेको नेपालसँगै पाकिस्तान र बंगलादेशको समान ६–६ अंक भएको थियो । तर, भुटानविरुद्ध गरेको ४ गोल नेपालका लागि महत्वपूर्ण बन्यो र गोल अन्तरका समूह विजेता बनेर अन्तिम चारमा स्थान बनाएको छ । पाकिस्तान उपविजेता बन्यो भने घरेलु टोली बंगलादेश समूह चरणबाटै बाहिरिएको छ ।