गरिबी निवारणका लागि पाकिस्तान चिनियाँ मोडेल अपनाउँदै,चीनले तीन दशकमा ७० करोड मानिसलाई गरिबीमुक्त बनायो
इस्लामावाद । पाकिस्तानले देशको गरिबी निवारणका लागि चिनियाँ नमूनालाई आधार बनाउने प्रधानमन्त्री इमरान खानले बताएका छन् ।
स्थानीय सञ्चारमाध्यमहरुका अनुसार, चीनले गरिबी निवारणका लागि सफल प्रयोग गरेको भन्दै त्यसलाई पाकिस्तानमा पनि लागू गरिने उनले बताएका हुन् । चीन र पाकिस्तान सबै मौसमका मित्र हुन् । पाकिस्तानको विकासमा चीनको महत्वपूर्ण भूमिका रहेको छ । त्यतिमात्र होइन, पाकिस्तानको विदेश नीति चीन निर्भर छ ।
भर्खरै चीनको औपचारिक भ्रमण सकेर फर्केका प्रधानमन्त्री खानले चिनियाँ विकासको मोडलको प्रशंसा गर्दै पाकिस्तानमा पनि उक्त मोडल अपनाइने बताएका हुन् ।
पाकिस्तानको पूर्वी शहर लाहोरमा सरकारी आवास गृहको उद्घाटन समारोहमा प्रधानमन्त्री खानले भने,‘चीनले विगत तीन दशकमा ७० करोड नागरिकलाई गरिबीबाट माथि उठाएको छ । यो विश्वकै इतिहासमा एक अभूतपूर्व सफलताको नमूना हो । पाकिस्तान यसबाट पाठ लिएर अघि बढ्नेछ ।’
यसै महिना चीनको औपचारिक भ्रमण गरेका खानले सरकारले चिनियाँ पक्षसँग गरिबी निवारणका लागि बृहद् रणनीतिक सल्लाहका लागि कुराकानी अघि बढाइसकेको बताए ।
‘मेरो सरकारले छिट्टै गरिबी निवारणको प्याकेजलाई पाकिस्तानको इतिहासमा नै पहिलो पटक ल्याउँदै छ । यसबाट गरिबीको रेखामुनि रहेका पाकिस्तानीलाई केही राहत मिल्ने विश्वास हामीलाई छ’ उनले भने,‘यस उद्देश्यका लागि श्रृङ्खलावद्ध सहायक पहल लिइनेछ ।’
इस्लामिक मुलुक पाकिस्तानले गरिबी निवारणको लक्ष्यलाई अघि बढाउन पहल तथा फरक फरक पहललाई निरन्तरता दिनुपर्ने उनले बताए । ताउनुभयो । पाकिस्तानको आर्थिक सर्वेक्षण २०१८ ले २० करोड ७० लाख जम्मा जनसंख्यामा २४ प्रतिशत जनता गरिबीको रेखामुनि रहेको देखाएको छ । गरिबी, भोकमरी र बेरोजगारको समस्याले पाकिस्तानको जनसंख्याको ठूलो हिस्सालाई प्रभावित गरेको छ ।
पाकिस्तानी प्रधानमन्त्रीले घरबिहीन नागरिकका लागि आवास गृह बनाइदिने घोषणा पनि गरेका छन् । उनीहरूलाई आवास, खाना र स्वास्थ्यजस्ता आधारभूत सेवाको प्रबन्ध सरकारले गर्ने योजना सरकारले रहेको उनले बताएका छन् ।