नेपालदेखि अमेरिकासम्मको सांगीतिक यात्रा
कविना सिंह व्यस्त कलाकार हुनुहुन्छ । नेपालदेखि अमेरिकासम्मको सांगीतिक यात्राले उहाँको जीवनलाई नयाँ मोड दिएको छ । उहाँलाई आफ्नो जन्मभूमि निकै प्यारो लाग्छ । कविना भन्नुहुन्छ,‘ म जिन्दगीभर मेरो राष्ट्रको कला र संस्कृतिको प्रचार प्रसार, प्रबद्र्धन र सम्वद्र्धनमा लागिरहने छु ।’
‘कुनै पनि संस्थाले नृत्य प्रस्तुत गर्न बोलायो भने अरु काम छाडेर जाने गरेकी छ ु । मैले धेरै कुरा सिक्न बाँकी छ , सिकेका कुरा अरुलाई सिकाइरहेकी छु ।’ उहाँ भन्नुहुन्छ ।
न्युयोर्क विश्वकै राजधानी हो । यहाँ विश्वभरिका मानिस छन् । सबैले आफ्नो देशको कला संस्कृति प्रस्तुत गर्छन् । आफ्नो देशको कला संस्कृति प्रस्तुत गर्न पाउँदा गर्व लाग्छ । विदेशीहरुलाई नेपाली कला संस्कृतिप्रति आकर्षित गर्न पाउँदा कविनालाई आनन्दको अनुभूति हुन्छ ।
मेरो कला देखेर मसँग बिहे गर्नुभएको हुँदा श्रीमान्ले मलाई कला क्षेत्रमा काम गर्न सहयोग गर्नुभएको छ । उहाँको सहयोगले गर्दा नै म यो चरणमा आइपुगेकी हुँ ।
म अमेरिकामा बसेर नेवा समुदायको कला संस्कृतिको प्रचार प्रसार गर्ने काम गरिहेकी छु । यही कर्मले यति टाढा बस्दा पनि मुलुकबाट टाढा भएजस्तो अनुभव भएको छैन । यही कर्मलाई म निरन्तरता दिन चाहन्छु ।
मैले सन् २०१२ देखि हालसम्म ४० भन्दा बढी कार्यक्रममा नृत्य प्रस्तुत गरिसकेकी छु । धेरैजसो कार्यक्रममा मैले चर्या, मञ्जुश्री, कुमारी र नेवा नृत्य प्रस्तुत गरेकी छु । न्युयोर्कमा नेवा नृत्य प्रस्तुत गर्ने कलाकारको कमी देखेर मैले नेवा नृत्यलाई प्राथमिकता दिएकी छु ।
गएको दसैँ अघिमात्र हामीले रिभाइजिङ नेपाल भाषासँग मिलेर ‘ हाउ टु डु बर्थ डे इन नेवा स्टाइल’ भन्ने सानो डकुमेन्ट्री र मेरो बारेमा भिडिया बनायौँ । यो निकै लोकप्रिय बन्यो । धेरैले मन पराउनुभयो ।
न्युयोर्कको डेल्टा मिल्तिमिडियासित मेरो सम्पर्क भयो । सो मिडियासँग मिलेर नेपाल भाषा तीनवटा म्युजिक भिडियोमा खेले । त्यसमा ‘माया रे रत्न’ गीत निकै लोकप्रिय बन्यो नेवार समुदायमा । यही गीतमा मेरो नृत्यबाट प्रभावित भएर सञ्जीवमान सिंह डंगोलले बिहेको प्रस्ताव गर्नुभयो । अन्ततः उहाँसँग मेरो बिहे भयो ।
सन् २०१० को अक्टोबरमा म अमेरिका आएँ । ११ महिना बसेर नेपाल फर्के । फेरि २०१२ मा म अमेरिका आएँ । मेरो भेट न्युजर्सीका आदरणीय समाजसेवी तुलसी महर्जनसित भयो । उहाँको फ्रेन्डसिप अफ नेपाल न्युजर्सीको वार्षिक दशैँतिहार शुभकामना कार्यक्रममा नेपाल भाषाको गीतमा नृत्य प्रस्तुत गरेँ । त्यसपछि उहाँकै सिफासिरमा घरसँग मुटुको डोनेसन कार्यक्रममा नृत्य प्रस्तुत गरेँ ।

मेरो जन्म ललितपुरको खोकानामा भएको हो । खोकाना सतप्रतिशत नेवा बस्ने गाउँ हो । यहाँ हामी नेवाको कला, संस्कृतिलाई विशेष महत्व दिएर चाडपर्व मनाउने गर्दछौँ । त्यसैले खोकानालाई जीवित संग्रहालयको रुपमा लिइन्छ । खोकाना तोरीको तेलका लागि पनि प्रसिद्ध छ ।
खोकानाजस्तो विशेष नेवा बस्तीमा जन्मेको हुर्केको भएर मलाई नेवा कला, साहित्य, संस्कारप्रति विशेष लगाव छ । नेपालमा हुँदा स्कुलको वार्षिक कार्यक्रम,सांस्कृतिक कार्यक्रमा नाच्ने तथा साना बालबालिकालाई नाच्न सिकाउने गर्थे । नृत्यमा मेरो सानैदेखि रुचि थियो । गाईजात्रालगायत विविध सांस्कृतिक जात्रा मेला पर्वमा म नाच्ने गर्दथे । जसले गर्दा यो क्षेत्र मेरो जीवनको प्रमुख कर्म बन्यो ।
कविनाको नेपालदेखि अमेरिकासम्मको सांगीतिक यात्रा आफैमा महत्वपूर्ण छ । इच्छाशक्ति, दक्षता र क्षमता भए विश्वको जहाँसुकै बसे पनि आफ्नो भाषा,संस्कृति, कला,साहित्यको सेवा गर्न सकिन्छ भन्ने उदाहरण बन्नु भएकी कलाकार कविनालाई यो क्षेत्रमा थप सफलता मिलोस् ।