स्पेनिस ला लिगामा मेसीको ४ सयौं गोल

Maitrinews

 

काठमाडौँ । लियोनल मेसीले स्पेनिस ला लिगामा ४ सयौं गोल गरेको दिन आइतबार राति बार्सिलोनाले इबरमाथि ३—० को बिजय हासिल गरेको छ ।

स्पेनिस ला लिगामा धेरै गोल गर्ने खेलाडीको शीर्ष स्थानमा रहेका मेसीले आइतबार घरेलु मैदानमा बार्सिलोनाका लागि दोस्रो गोल गरेका थिए । त्यसअघि बार्सिलोनाले लुइस स्वारेजको गोलबाट १९औं मिनेटमा अग्रता लिएको थियो। स्वारेजले फिलिपे कौटिन्होको पासमा गोल गरेका थिए । स्वारेजकै पासमा मेसीले ५३ औं मिनेटमा अग्रता दोब्बर बनाए । यससँगै मेसीले स्पेनिस ला लिगामा ४ सयौं गोल गर्ने एक्ला खेलाडी बनेका छन् ।

उनी ला लिगामा सबैभन्दा धेरै गोल गर्ने खेलाडी हुन । उनले ४ सय ३५ खेलमा ४ सय गोल गरेका हुन् । ५९ औं मिनेटमा स्वारेजले व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई ३—० को जित दिलाए । जितसँगै बार्सिलोनाले लिगको शीर्ष स्थानमा पाँच अंकको अग्रता कायम राखेको छ । १९ खेलबाट बार्सिलोनाको ४३ अंक छ । इबर २२ अंक जोडेर १६ औं स्थानमा छ ।

दोस्रो स्थानको एट्लेटिको मड्रिडको ३८ अंक छ । आइतबार राति एट्लेटिकोले लेभान्टेलाई १—० ले हराएको थियो ।

एट्लेटिकोलाई घरेलु मैदानमा जिताउन एन्टोनी ग्रीजम्यानले ५७ औं मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । तेस्रो स्थानको सेभिया एथलेटिक बिल्बाओसँग २—० ले पराजित भयो । घरेलु मैदानमा एथलेटिकलाई जिताउन इनाकी विलियम्सले दुई गोल गरे ।