नाइजेरियामा बोको हराम आक्रमणमा अन्तिम संस्कारमा सहभागी ६५ जनाको मृत्यु

maitrinews

 

नाइजेरिया । नाइजेरियामा बोको हराम लडाकु समूहको आक्रमणमा कम्तीमा ६५ जनाको मृत्यु भएको छ।
त्यहाँको सरकारी सञ्चारमाध्यमका अनुसार बोर्नो प्रान्तमा एउटा अन्तिम संस्कारमा सहभागीहरूमाथि ‍गोली चलाइएको थियो।
प्रत्यक्षदर्शीहरूका अनुसार मोटरसाइकल र गाडीमा आएका बन्दुकधारीहरूले बोर्नो प्रान्तको माइदुगुरीनजिकै रहेको गाउँमा गएर उक्त आक्रमण गरेका हुन्।

त्यहाँ कैयौँ मलामीहरूको गोली लागेर मृत्यु भयो भने आक्रमणकारीलाई लखेट्दा अरूले पनि ज्यान गुमाए।

उक्त क्षेत्रमा इस्लामवादी लडाकुहरूले केही समययता हिंसात्मक घटना बढाएका छन्।

स्थानीय सरकारी अधिकारी मोहम्मद बुलामका बुझाइमा उक्त आक्रमण दुई साताअघि स्थानीय बासिन्दाहरूद्वारा ११ जना बोको हरामका लडाकु मारिएको घटनाको बदला लिन गरिएको हुन सक्छ।