डा. रुइतलाई पनि डेंगु

काठमाडौँ । नेत्र विशेषज्ञ प्राडा। सन्दुक रुइत तीन दिनयता अस्पतालमा छन् । अघिपछि पनि काम गर्ने र पढाउने अस्पताल भने होइन । डेंगुको संक्रमणले आफैं बिरामी परेर थापाथलीको नर्भिक अस्पतालमा उनी भर्ना भएका हुन् । उनलाई डेंगु पनि अस्पतालमा रहँदा भएको होइन । घरैमा उनीसहित रुइत परिवारका तीन जनालाई डेंगुको संक्रमण भएको हो ।
‘डेंगुको अवस्था भयावह भएर आयो,’ उनले भने, ‘डेंगु फैलाउने लामखुट्टे मास्ने अभियान प्रभावकारी रूपमा चलाउन ढिला गरे झन् गाह्रो हुन्छ ।’ सञ्चारमाध्यममा आएका डेंगु संक्रमितको संख्याभन्दा दोब्बर बिरामी हुन सक्ने उनले बताए । पछिल्लो समय देशव्यापी रूपमै डेंगु संक्रमण बढेको अवस्थामा बिरामी पर्नेमा डा। रुइत एक्ला स्वास्थ्यकर्मी होइनन् ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल र राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाका गरेर आइतबारसम्म १० स्वास्थ्यकर्मी डेंगु संक्रमित भई उपचार गराइरहेका छन् । केही उपचारपछि निको भएका छन् । अस्पतालमा कार्यरत र बाहिरका स्वास्थ्यकर्मीलाई संक्रमणबाट बच्न र बचाउन सचेत गराइएको निर्देशक डा। वासुदेव पाण्डेले बताए । ‘स्वास्थ्यकर्मी नै बिरामी परेपछि सर्वसाधारणमा पनि त्रास बढ्नु अस्वाभाविक होइन । जोगिने उपायबारे नियमित बताइरहेका छौं,’ उनले भने, ‘सकेसम्म शरीर पूरै ढाक्ने कपडा लगाउन र सरसफाइमा विशेष ध्यान दिन जरुरी छ ।’