न्युयोर्कमा मुक्तक मेला — न्युयोर्कबाट न्हुच्छेनारायण डंगोल

 

न्युयोर्क । नेपाल मुक्तक प्रतिष्ठान अमेरिका शाखाले गत शनिबार यहाँ मुक्तक वाचन तथा भेटघाट कार्यक्रम भव्यताका साथ सम्पन्न गरेको छ ।
न्युयोर्कको उडसाइडस्थित क्विन्स पब्लिक लाइब्रेरीमा आयोजित उक्त कार्यक्रमको सभापतित्व प्रतिष्ठानका अध्यक्ष साहित्यकार आनन्द श्रेष्ठले गर्नुभएको थियो । प्रमुख अतिथि नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराई हुनुहुन्थ्यो ।
कार्यक्रमको सुरुमा अध्यक्ष श्रेष्ठले प्रतिष्ठानको उद्देश्य, यसले गरेका कार्य र यसका भावि कार्यक्रमबारे प्रकाश पार्नुभएको थियो । उपाध्यक्ष कृष्णसिंह धामीले स्वागत भाषण गर्नुभएको थियो ।
कार्यक्रममा बरिष्ठ कानुनविद् विनोद रोक्का, पुष्कर बराल, एनबी दाहाल, यादव गौतम, राजन महर्जन , शारदा क्षेत्री, चित्रकार कुची, कृष्ण कुसुम, डा. गोविन्द कोइराला, डा.मधु माधुरिया, विकास विष्ट,
गोबद्र्धन पुजा, मिलन शाहीलगायतका साहित्यकारहरुले मुक्तक वाचन गर्नुभएको थियो ।
कार्यक्रममा न्युयोर्क बाहिरका सहरहरु बोस्टन, न्यु ह्याम्पसायर, न्युजर्सी, नर्थ क्यारोलाइनबाट साहित्यकारहरुले सहभागिता जनाएका थिए ।
कार्यक्रमको अन्त्यमा प्रमुख अतिथि नेपाली महावाणिज्यदूत पुष्पराज भट्टराईले हाम्रा सन्ततिहरुलाई हाम्रो धर्म र संस्कृतिबारे जानकारी गराउन प्रष्तिष्ठानले भूमिका खेल्न आग्रह गर्दै नेपाली साहित्य विश्वभर फैलाउनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा उहाँले अन्तर्राष्ट्रिय साहित्य समाज बोर्डको नवगठित कार्यसमितिका अध्यक्ष गीता खत्रीलगायत सबै बोर्ड सदस्यहरुलाई प्रतिष्ठानका तर्फबाट सम्मान गर्नुभएको थियो ।
कार्यक्रमको सञ्चालन पत्रकार तथा साहित्यकार ज्योतिकुमार श्रेष्ठले गर्नुभएको थियो ।