इक्वेडरमा रिपोर्ट गरिएभन्दा धेरैको मृत्यु, शव घर र सडकमा अलपत्र

maitrinews

 

इक्वेडर । दक्षिण अमेरिकी मुलुक इक्वेडरमा कोरोनाका कारण रिपोर्ट गरिए भन्दा धेरै जनाको ज्यान गएको बिबिसीले जनाएको छ।

त्यहाँ आधिकारिक रूपमा कोरोनाका कारण ४ सय ३ जनाको ज्यान गएको बताइए पनि त्यहाँको एक प्रान्तले दिएको तथ्यांकले भने हजारौंको मृत्यु भएको देखाएको छ।

इक्वेडरको गुवायस प्रान्त सरकारका अनुसार अप्रिलको पहिलो दुई सातामा मात्र त्यहाँ ६ हजार ७ सय जनाको मृत्यु भएको छ।

कोरोना भाइरसबाट बढी प्रभावित गुयस सहर इक्वेडरको सबभन्दा ठूलो सहर हो।

बिबिसीले प्राप्त गरेको भिडिओ फुटेजमा त्यहाँका मानिसहरूले मृतकहरूको शवलाई पाँच दिनसम्म पनि घरमै राख्न बाध्य भएको देखाइएको छ।

सरकारी अधिकारीहरूले ठूलो संख्यामा रहेका शव व्यवस्थापन गर्न असमर्थ भएपछि घर तथा सडकमै प्लास्टिकमा बेरेर छोडिदिएका छन्।

गत हप्तादेखि अधिकारीहरूले त्यहाँका बासिन्दाहरूलाई हजारौं कफिन वितरण गर्न सुरू गरे। त्यसैगरी कफिन आवश्यक परेकाको सहयोगको लागि त्यहाँ एउटा हटलाइनको समेत व्यवस्था गरिएको छ।

यो समस्या समाधान गर्नका लागि बनाइएको पुलिस इकाईका प्रमुख जोर्ज वेट्डका अनुसार यो साताभर सहरका घरबाट ७ सय ७१ शव हटाइएको छ।

सरकारको तथ्यांक अनुसार मार्च महिनादेखि गुयस प्रान्तमा १४ हजार ५ सय ६१ जनाको मृत्यु भइसकेको छ।

यस अनुसार प्रान्तमा औषतमा महिनामा दुई हजार जनाको ज्यान गइरहेको छ।

जोन्स हपकिन्स् विश्वविद्यालयका अनुसार इक्वेडरमा हालसम्म ८ हजार २ सय २५ कोरोना संक्रमण पुष्टि भएको छ। व्यापक परीक्षणको अभावमा कम देखिएको उसको भनाइ छ।

गुयसका अधिकारीहरूले भने कोरोना भाइरसको संक्रमण रोक्नलाई सुरूदेखि नै कडा नियम लागू गरेको भए पनि मानिसले नमानेको बताएका छन्। तर, विज्ञहरूले भने यसमा थप बढी कार्य गर्न सकिने बताइरहेका छन्।

तीव्र गति परीक्षण गरेर संक्रमितहरू चाँडो पत्ता लगाइ उपचार गर्न सम्भव हुने उनीहरूको भनाइ छ।

कम परीक्षणका कारण समुदायमा भाइरस कसरी फैलियो भन्ने बुझ्न कठिनाइ भइरहेको उनीहरूको धारणा छ।

इक्वेडरका उपराष्ट्रपति ओट्टो सोन्नेनहोलजरले महामारीबारे सरकारले ढिलो प्रतिक्रियाका दिएको स्वीकार्दै उनले देशवासीसँग यसै महिना माफी मागेका थिए।

ुहामीले यस्ता दृश्य देख्यौं जुन कहिल्यै नदेख्नु पर्ने थियो। तपाईंहरूको सेवक, म सबैसँग माफी माग्न चाहन्छु,ु सोनन्नेहोलजरले त्यति बेला भनेका थिए।

संक्रमण नियन्त्रणमा त्यहाँको चरम गरिबीले पनि प्रभाव पारिरहेको छ।