भारतमा एकै दिन दुई हजार हाराहारीमा कोरोना संक्रमित

maitrinews

 

नयाँदिल्ली । विश्वभर फैलिएको कोरोना भाइरसको संक्रमण भारतमा पनि बढ्दै गइरहेको छ । शनिबार एकै दिन अहिलेसम्मकै रेकर्ड १ हजार ९२६ जना संक्रमित भएका छन् ।

पछिल्लो १० दिनमा संक्रमित दोब्बर बढेका छन् । १५ अप्रिलसम्म संक्रमितको संख्या १२ हजार ३७० रहेको थियो भने त्यसको १० दिनपछि संक्रमितको संख्या २६ हजार ३७८ पुगेको छ ।

एकै दिन शनिबार बढेका संक्रमित अहिलेसम्मकै उच्च हुन् । त्यसअघि अप्रिल २३ मा १६ सय ६७ जना संक्रमित भएका थिए ।

संक्रमित हुनेमा केन्द्रीय रिजर्भ पुलिस बल सीआरपीएफका १५ जना पनि संक्रमित भएका छन् । त्यसअघि पुलिसका ९ जना संक्रमित भएका थिए ।

भारत सरकारले मे ३ तारिखसम्म लकडाउन लगाएको छ । अहिलेसम्म मृतकको संख्या ८२५ पुगेको छ । सबैभन्दा बढी महाराष्ट्रमा ३२३ जनाको ज्यान गएको छ ।

महाराष्ट्रमा सबैभन्दा बढी ७ हजार ६२८ जना संक्रमित भएका छन् । त्यहाँ १ हजार ७६ जनालाई निको भएको छ ।

भारतमा कोरोना २६ राज्य र ६ केन्द्र शासित प्रदेशमा फैलिएको छ ।