चीनसँगको सबै सम्बन्ध तोड्ने ट्रम्पको चेतावनी

 

अमेरिका। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्ने चेतावनी दिनुभएको छ । एक अन्तर्वार्तामा उहाँले आफूले चीनसँगको सबै सम्बन्ध तोड्न सक्ने बताउनुभएको हो ।

ट्रम्पले चीनसँगको सबै सम्बन्ध तोड्दा अमेरिकाको पाँच खर्ब डलर बच्ने बताउनुभयो । ट्रम्पले दुई मुलुकको बीचमा हुने गरेको व्यापारलाई संकेत गर्नुभएको हो । चीनसँग अमेरिकाको वार्षिक खर्बौं डलरको व्यापार घाटा हुने गरेको छ ।

पछिल्लो केही समययता अमेरिकाले चीनसँग कोरोना भाइरसको क्षतिपूर्ति दिनुपर्ने बताउँदै आएको छ । चीनमाथि अमेरिकाले कोरोना भाइरसको महामारीको शुरुवाती जानकारी लुकाएको आरोप लगाउँदै आएको छ ।

यद्यपि चीनले भने अमेरिकाको सबै आरोप अस्वीकार गर्दै आएको छ । पछिल्लो समय ट्रम्पले निरन्तर चीनको विरोध गर्दै आउनुलाई आगामी नोभेम्बरमा हुन गइरहेको राष्ट्रपतीय निर्वाचनको एक रणनीतिको रुपमा लिइएको छ ।