गौरकाण्डका पीडितले न्याय पाएनन्

 

काठमाडौँ । गौर नरसंहारको भएको १४ वर्ष पुग्यो । अहिलेसम्म पीडितले न्याय पाउन सकेका छैनन् । झडपमा मृत्यु भएका २७ जनाका परिवारले राज्यबाट १० लाखका दरले राहत पाए तर न्याय कसैले पाएका छैनन् । दोषीलाई कारबाही माग गर्दै पीडितले प्रधानमन्त्रीलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । जसपा अध्यक्ष उपेन्द्र यादवसहित ११३ जनाविरूद्ध प्रहरीमा कर्तव्य ज्यान मुद्दा दर्ता छ ।

२०६३ चैत ७ गते अपराह्न गौर नगरपालिकास्थित राइस मिल मैदानमा भएको अकल्पनीय घटना भयो । त्यो क्रूर घटनामा तत्कालीन मधेसी जनअधिकार फोरमका नेता उपेन्द्र यादव, पूर्वसभासद बबन सिंह, प्रदेशसभा सांसद बाबुलाल साहलगायत ११३ जनाको नाम जोडिएको छ ।
राइस मिलमा एकै स्थानमा तत्कालीन माओवादी र तत्कालीन फोरमले सभा गर्न लाग्दा झडप भएको थियो । झडपमा २७ वाईसीएल कार्यकर्ताको मृत्यु भयो भने ५३ जना गम्भीर घाइते भएका थिए ।