भारतमा एकैदिन डेढ लाख नाघे संक्रमित

 

नयाँदिल्ली। भारतमा कोरोना भाइरसको संक्रमण अहिलेसम्मकै उच्च बिन्दूमा पुगेको छ । भारतमा शनिबार एकै दिन एक लाख ५२ हजार ५६५ जना संक्रमित थपिएका छन् । यो एकैदिन थपिएको अहिलेसम्मकै बढी हो । विगत एक सातादेखि निरन्तर एक लाख भन्दा बढी संक्रमित थपिने क्रममा शनिबार अहिलेसम्मकै सबैभन्दा उच्च संक्रमित थपिएका हुन् ।

शुक्रबार १ लाख ४४ हजार ८२९ संक्रमित थपिएका थिए । हरेक दिन नयाँ रेकर्ड राख्ने क्रममा संक्रमितहरु हजारौंको संख्यामा थपिएका छन् । बिहीबार एकैदिन १ लाख ३१ हजार ८७८ जना संक्रमित थपिएका थिए । यसअघि बुधबार एकैदिन १ लाख २६ हजार २६५ जना संक्रमित थपिएका थिए । मंगलबार १ लाख १५ हजार २६२ संक्रमित थपिएका थिए ।

हरेक दिन संक्रमणको नयाँ रेकर्ड बन्दै गएको छ । गत आइतबार पहिलो पटक एकैदिन एक लाख भन्दा बढी कोरोना भाइरसका संक्रमित भेटिएका थिए । गत सन् २०१९ को डिसेम्बरको अन्त्यदेखि चीनबाट देखिएको कोरोनाको संक्रमण भारतसम्म आइपुग्दा गत वर्षको सेप्टेम्बर १६ मा ९७ हजार ८५९ संक्रमित थपिएका थिए ।