छोराले गरे बाबुको हत्या

maitrinews

विराटनगर । छोरासँगको झगडामा विराटनगरका एक पुरुषको मृत्यु भएको छ । विराटनगर महानगरपालिका–८ बलुवाईका ५४ वर्षीय विको सहनी मुखियाको ज्यान गएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी मानबहादुर राईले जानकारी दिनुभयो । माइलो छोरा २५ वर्षीय रवि सहनी मुखियासँग झगडा हुँदा घाइते भएका विकोको उपचारका लागि पुर्याउनसाथ मृत्यु भएको उनले बताए ।

झगडाका क्रममा घाँटीमा बाँसको भाटा उनिएर विको घाइते भएका थिए । बाबुको हत्यामा संलग्न रवि फरार रहेका कारण खोजी तीव्र पारिएको राईले बताउनुभयो । विकोका तीन छोरा र एक श्रीमती छन् । तर उनी परिवारका सदस्यसँग बस्दैन थिए । स्थानीय बासिन्दाका अनुसार परिवारका सदस्यबाट अलग्गै बस्दै आएका विको बाँसको भाटाको बेरा लगाएर बनाइएको घरमा पसल राखेर घरेलु मदिरा बिक्री गर्थे । राति अवेरसम्म मदिरा पसल खुल्लै राखेको देखेर पसल बन्द गर्न आग्रह गरेका माइलो छोरा रविको त्यही विषयलाई लिएर बाबुसँग विवाद भएको थियो ।