अव मिस तामाङ वर्ल्ड २०२१ को आयोजना हुने

काठमाडौं। विश्वभर छरिएर रहेका प्रतिभाशाली तामाङ युवतीहरुमा केन्द्रित रहेर मिस तामाङ वर्ल्ड २०२१ को आयोजना हुने भएको छ। कार्यक्रम संचालन हुन लागेको सम्बन्धमा काठमाडौंको नक्साल हात्तीसार स्थित नेपाल हाउसमा आयोजित पत्रकार भेटघाट मार्फत् यसबारे औपचारिक रुपमा जानकारी गराइएको हो ।

मिस तामाङ वर्ल्ड फाउन्डेसन तथा साधना कला केन्द्रको आयोजनामा संचालन हुन लागेको मिस तामाङ वर्ल्ड २०२१ले तामाङ समुदायको अन्य जातिसंगको सामाजिकरणमा पनि जोड दिने उद्देश्य राखेको आयोजक संस्थाका संस्थापक अध्यक्ष मिलन मोक्तानले वताएका छन्। तामाङ संस्कृतिको अन्तर्राष्ट्रियकरण होस् भन्ने मिस तामाङ वर्ल्डको उद्देश्य रहेको अध्यक्ष मोक्तानको भनाई छ । सो कार्यक्रममा पूर्व मिस तामाङ विजेताहरु जेनिशा मोक्तान, सुमि मोक्तान, पिंकी घिसिङ तथा सिम्रन स्याङ्बो लगायतको उपस्थिति रहेको थियो ।

प्रतियोगितामा सहभागिता लागि आगामी वैशाख १५ गतेसम्म आवेदन दिनुपर्नेछ । कार्यक्रममा विश्वको जुन सुकै स्थानमा बसोबास गर्ने तामाङ जातिको अविवाहित युवतीहरुले आवेदन दिन सक्नेछन् । आवेदक १६ देखि २८ वर्ष उमेर समूह भित्रको हुनुपर्ने, कम्तिमा दश जोड दुई वा सरहको शैक्षिक योग्यता हासिल गरेको हुनुपर्ने, कम्तीमा पाँच फिट उँचाईको हुनुपर्ने र मानसिक सन्तुलन सही हुनुपर्ने मुख्य प्रावधान राखिएको छ । प्रतियोगिताको फाइनल प्रतिस्पर्धा आगामी जेठ १२ गते बुद्ध जयन्तीको अवसर पारेर लुम्बिनीमा आयोजना गरिने बताइएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *