सरकारलाई कांग्रेसले विश्वासको मत नदिने–कोरोनाको सरकारलाई ध्यानाकर्षण

Smrit

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली पार्टीका नेताहरुसहित बुधबार नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाको निवास पुगेका छन्। देउवा निवास पुगेका प्रधानमन्त्री ओलीले विश्वासको मत दिन सहयोग मागेका छन् । तर नेपाली कांग्रेसका सभापति देउवाले सहयोग गर्न नसक्ने जवाफ फर्काएको छ ।

नेपाली कांग्रेस पदाधिकारी बैठकले २७ वैशाखको प्रतिनिधिसभा विशेष अधिवेशनमा विश्वासको मत लिन आउँदा प्रधानमन्त्रीलाई फेल गराउने निर्णय गरेको भोलिपल्ट अर्थात आज नेकपा एमाले अध्यक्ष समेत रहेका ओली, उपप्रधानमन्त्री एवं एमाले महासचिव ईश्वर पोखरेल, एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, गृहमन्त्री रामबहादुर थापा बादल र अर्थमन्त्री विष्णु पौडेललाई लिएर देउवा निवास बूढानीलकण्ठ पुगेका थिए ।

भेटमा नेपाली कांग्रेसको तर्फबाट देउवाका साथै वरिष्ठ नेता रामचन्द्र पौडेल, उपसभापति विमलेन्द्र निधि, महामन्त्रीद्वय डा। शशांक कोइराला, पूर्णबहादुर खड्का र सहमहामन्त्री प्रकाशशरण महत सहभागी भएका थिए ।
भेटमा प्रधानमन्त्री ओलीले विश्वासको मतका लागि आफूलाई सहयोग गर्न आग्रह गरेका छन् । ‘विश्वासको मतमा उहाँले सहयोगको अपेक्षा गर्नुभयो हामीले स्वाभाविक रुपमा विपक्षी पार्टी हौं र हामीले तपाईंलाई सहयोग गर्ने अवस्था छैन भन्ने स्पष्ट राख्यौं’ बैठकपछि नेपाली कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भनेका छन् ।

महतका अनुसार नेपाली कांग्रेसका नेताहरुले कोरोना महामारीमा बेड, अक्सिजन नपाएर जनता पीडामा रहेको भन्दै प्रधानमन्त्री ओलीको ध्यानाकर्षण गराएका छन् ।