सडक मर्मतपछि म्याग्दीमा पर्यटकको चहलपहल बढ्दै
प्रभावित पर्यटन व्यवसाय चलायमान हुने
काठमाडौँ, कार्तिक ६ । दसैँलगत्तै म्याग्दीका प्रमुख पर्यटकीय स्थलमा पर्यटकको चहलपहल बढ्न थालेको छ । अनुकूल मौसम र मुस्ताङ जोड्ने बेनी जोमसोम सडक मर्मतपछि यातायात सञ्चालनमा आएसँगै दसैँ तिहारको बिदा मनाउन आउने आन्तरिक पर्यटकको आगमन बढेको हो ।
घोडेपानी, पुनहिल, खोपारा, सिंगा तातोपानी, भुरुङ-तातोपानी, अन्नपूर्ण आधार शिविर, रुप्से झरना र गलेश्वरलगायत पर्यटकीयस्थलमा बिहीबारदेखि पर्यटकको चहलपहल बढेको स्थानीय व्यवसायीले बताएका छन् । बेनी नगरपालिका ९ गलेश्वरका होटल व्यवसायी बाबुराम आचार्यले दसैँको टीकापछि पर्यटक आगमन बढ्न थालेको बताउनुभयो ।
असोजको दोस्रो सातामा कालीगण्डकी नदीमा आएको बाढीका कारण बेनी-जोमसोम सडक अवरुद्ध हुँदा पर्यटक आगमन न्यून भएको उहाँले बताउनुभयो । सडक मर्मतपछि यातायात सञ्चालनमा आएकाले दसैँ र तिहारको बीचमा पर्यटकको सङ्ख्या बढ्ने तथा प्रभावित पर्यटन व्यवसाय चलायमान हुने अपेक्षा गरिएको उहाँको भनाइ छ ।
असोज ८ देखि ११ गतेसम्मको निरन्तर वर्षापछि आएको पहिरो र कालीगण्डकीको बाढीले अवरुद्ध बनेको बेनी-जोमसोम सडकको म्याग्दी खण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको हो । विगतका तथ्याङ्कअनुसार असोज र कात्तिक म्याग्दीमा विदेशी पर्यटकको आगमन बढी हुने समय हो ।
अन्नपूर्ण चक्रीय पदमार्गको प्रमुख गन्तव्य घोडेपानीका होटल व्यवसायी तथा अन्नपूर्ण गाउँपालिकाका पूर्वअध्यक्ष डमबहादुर पुनले बाढीपहिरोका कारण विगतका वर्षको तुलनामा विदेशी पर्यटक कम आए पनि दसैँ-तिहारको बिदामा पदयात्रा गर्न आउने आन्तरिक पर्यटकको आगमन बढ्ने अपेक्षा गरिएको बताउनुभयो । उहाँका अनुसार घोडेपानी-पुनहिल-घान्द्रुक पदमार्ग सुरक्षित छ । क्षतिग्रस्त सडक तथा पदमार्ग मर्मत गरी यातायात सञ्चालन सहज बनाइएकाले पर्यटकको चहलपहल बढ्ने विश्वास गरिएको छ ।
घोडेपानीबाट करिब ४५ मिनेट उकालो हिँडेपछि पुगिने समुद्री सतहदेखि तीन हजार २१० मिटर उचाइमा रहेको पुनहिल सूर्योदय, हिमशृङ्खलाको दृश्यावलोकन र पदयात्राका लागि लोकप्रिय गन्तव्य हो । त्यस्तै, बेनी नगरपालिका ४ स्थित सिंगा तातोपानी कुण्ड र अन्नपूर्ण गाउँपालिका २ को भुरुङ-तातोपानी कुण्ड प्राकृतिक उपचार तथा पर्यटनका दृष्टिले परिचित छन् । म्याग्दी नदीको बाढीबाट क्षति पुगेको सिंगा तातोपानी कुण्ड मर्मतपछि असोजको अन्तिम सातादेखि सञ्चालनमा आएको हो ।
अन्नपूर्ण चक्रीय पदमार्ग तथा मुस्ताङ आवतजावत गर्ने पर्यटकको थकान मेटाउने स्थलका रूपमा परिचित भुरुङ-तातोपानी र पाउद्वार तातोपानी कुण्ड सुरक्षित रहेका छन् । भुरुङ-तातोपानीका सञ्चालक प्रितम पुर्जाले करिब एक महिनापछि पर्यटकको आगमन हुन थालेको बताउनुभयो । भुरुङ-तातोपानी अन्नपूर्ण हिमालको आधार शिविर जोड्ने मौरिस हर्जोग पदमार्गको प्रवेश बिन्दु पनि हो । विपद्बाट सुरक्षित रहेको यस पदमार्ग हुँदै बिहीबार करिब १५० जना आन्तरिक पर्यटक अन्नपूर्ण आधार शिविर भ्रमणमा गएको होटल व्यवसायी काजी थापाले जानकारी दिनुभयो ।
त्यस्तै, रुप्से झरना क्षेत्रमा पनि पर्यटकको चहलपहल बढेको छ । झरना परिसरमा चियापसल सञ्चालन गर्दै आउनुभएकी छुमा पाइजाले करिब एक महिनापछि पर्यटक आउन थालेको बताउनुभयो । दसैँको बिदा मनाउन मुस्ताङ भ्रमणमा आउनुभएका चितवनका रमेश पाण्डेले म्याग्दी हुँदै बस, जिप र मोटरसाइकलमा सहज रूपमा मुस्ताङ जान सकिने बताउनुभयो ।
बेनी-जोमसोम सडक मर्मतसँगै बाढीपहिरोबाट क्षतिग्रस्त अन्य सडक तथा पदमार्गको पुनर्निर्माणलाई तीव्रता दिन सके म्याग्दी र मुस्ताङको पर्यटन व्यवसायलाई पुरानै लयमा फर्काउन सकिने अपेक्षा गरिएको छ । बेन-जोमसोम-कोरला सडक योजनाका प्रमुख तेजस्वी शर्माले पर्यटकीय यामलाई ध्यानमा राख्दै सडक मर्मत गरी यातायातका साधन सहज रूपमा सञ्चालन हुने वातावरण बनाउन काम भइरहेको बताउनुभयो ।
