तुलसीपुरमा कृत्रिम ड्यामले फेरियो सिँचाइको अवस्था, दुई सय बिघा जमिनमा सुविधा विस्तार हुँदै

दाङ, ६ कात्तिक । दाङको तुलसीपुर उपमहानगरपालिका–१८ स्थित रानी सामुदायिक वन क्षेत्रमा कृत्रिम ड्याम निर्माण भएपछि स्थानीय किसानलाई सिँचाइमा सहज भएको छ। विगतमा आकाशे पानीको भर पर्नुपर्ने सुक्खा जमिनमा अहिले सिँचाइ सुविधा पुग्न थालेको छ भने आसपासका कुवा तथा इनारमा पानीको सतहसमेत बढेको छ।

बृहत् दाङ उपत्यका सिँचाइ आयोजनाले ड्याम निर्माण गरेपछि हेमन्तपुर क्षेत्रमा सिँचाइ भइरहेको छ। त्यस्तै, धनखन्ने, सानोदमार र दौडारे क्षेत्रका करिब दुई सय बिघा जमिनमा सिँचाइ सुविधा विस्तार गर्ने काम अघि बढिरहेको ड्याम संरक्षण समितिका अध्यक्ष गोविन्द नेपालीले बताउनुभयो।

उहाँका अनुसार ड्याम निर्माणले सिँचाइमा सहजता ल्याउनुका साथै आसपासका कुवा तथा इनारमा पानीको सतह बढाउन सहयोग गरेको छ। यसले स्थानीय बासिन्दालाई पानीको उपलब्धतामा राहत पुगेको छ।

तुलसीपुर उपमहानगरपालिका–१८ का वडाध्यक्ष माधव वलीका अनुसार विगतमा चैत महिनामै सुक्ने इनार अहिले तालतलैयाका कारण जमिनमुनि पानी पुनर्भरण हुँदा वर्षैभरि नसुक्ने भएका छन्। सिँचाइ अभावमा बाँझो रहने जमिनसमेत अहिले हराभरा हुन थालेको उहाँले बताउनुभयो।

वडाध्यक्ष वलीका अनुसार उक्त क्षेत्रलाई भूवर्गीकरणमार्फत आवासीय वा औद्योगिक क्षेत्रका रूपमा नभई कृषि क्षेत्रका रूपमा अघि बढाइएको छ। कृत्रिम ड्याम र तालतलैयाले जलस्रोत तथा प्रकृति संरक्षण गर्नुका साथै कृषि क्षेत्रको रूपान्तरणमा समेत योगदान पुर्‍याएको उहाँको भनाइ छ।

ड्याममा डुङ्गासमेत सञ्चालनमा रहेको छ। डुङ्गा सञ्चालनबाट आम्दानीसमेत हुने गरेको छ। यसरी ड्यामले सिँचाइ सुविधा विस्तारसँगै स्थानीय जलस्रोत संरक्षण र आर्थिक गतिविधिमा समेत सहयोग पुर्‍याएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *